सरकारप्रति प्रचण्ड किन भए निराश?
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विगत केही दिनयता सरकारको कामकारबाहीबारे निराशाजनक अभिव्यक्ति दिँदैछन् । पार्टीका अर्का अध्यक्ष केपी शर्मा ओलीले ‘सुखी नेपाली समृद्ध मुलुक’को नारा बनाई सरकार सञ्चालन गरिरहेका बेला अध्यक्ष दाहालले भने सरकारका कामको समीक्षा गर्ने बेला भएको अभिव्यक्ति भएका छन् ।
ओली नेतृत्वमा सरकार गठन भएको एक वर्षमात्र बिते पनि दाहालले सरकारको कामप्रति सन्तोष गर्ने ठाउँ नभएको संकेत गरेका छन् । पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारी र पर्यटनमन्त्रीसहित हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएकाको स्मृतिमा पार्टीले बिहीबार आयोजना गरेको श्रद्धाञ्जली सभामा पनि अध्यक्ष दाहालले सरकारको एक वर्षको समीक्षा गर्नुपर्ने दोहोर्याए । ‘दिवंगत नेताहरुको चाहना तथा उहाँहरुले जनतासँग भोट मागेअनुसार सरकारमा बसेर हामीले काम गर्न सकेका छौं कि छैनौं, अहिले आएर सरकारको समीक्षा पनि गर्नुपर्ने अवस्था आएको छ । यो विषयमा पार्टीभित्र पनि कुरा उठेको छ’, उनले भने ।
फागुन ११ गते भक्तपुर तरकारी तथा फलफूल बजार उद्घाटनका क्रममा दाहालले कहिलेकाहीं आफूलाई पनि राजनीति छोडेर खेती गर्न जाऊँ कि जस्तो लाग्ने गरेको अभिव्यक्ति दिए । ‘समृद्धिको यात्रा भनेको कृषिको आधुनिकीकरण र रोजगार वृद्धि हो,’ दाहालले भने, ‘हामीले ठूला कुरा गर्दै आएका छौं तर कृषि उत्पादनका उपभोक्ता र कृषकको दूरी घटाउन सकेका छैनौं ।’
उनले बिहीबार पनि प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापालगायतको उपस्थितिमै सरकारले जनभावनाअनुसार काम गर्न सकेको वा नसकेको भन्ने समीक्षा गर्नुपर्ने बताए । दाहालबाट सरकारको समीक्षाको कुरा किन आइरहेको छ ? नेकपा स्थायी समिति सदस्य बेदुराम भुसालले पार्टीभित्र सरकारको समीक्षा गर्नुपर्छ भन्ने कुरा उठेको धेरै महिना भइसकेको बताए । सरकारमा रहने र सरकारका कामकारबाहीका विषयमा किन आलोचना भइरहेको छ भन्नेबारेमा समीक्षा गरौं भन्ने कुरा उठिरहेको उनले बताए ।
राजनीतिक विश्लेषक झलक सुवेदीले दाहालको अभिव्यक्ति प्रधानमन्त्री र सरकारविरोधी नभई सरकारले गरेका कामकारबाहीप्रति जनस्तरमा उठेका प्रश्नको सम्बोधनका लागि आएको हुन सक्ने बताए । उनले पार्टीभित्र समेत विभिन्न प्रश्न उठेको बताउँदै सरकारको कामको समीक्षा गर्दा टीकाटिप्पणी कम हुन सक्ने कोणबाट पनि दाहालको अभिव्यक्ति आएको हुन सक्ने बताए । यो समाचार नागरिक दैनिकबाट लिइएको हो ।