नेकपा महासचिव पौडेलको स्पष्टिकरण: ललित निवासको जग्गामा हिनामिना गरेको छैन
काठमाडौं। नेपाल कम्युनिष्ट पार्टीका महासचिव विष्णु पौडेले ललिता निवास परिसरको जग्गामा कुनै हिनामिना नगरेको स्पष्ट पारेका छन् ।
मुआब्जा दिएर सरकारले अधिग्रहण गरेको बालुवाटारस्थित सरकारी सम्पत्ति ललिता निवास परिसरमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव विष्णुप्रसाद पौडेलको पनि जग्गा रहेको समाचार विभिन्न संचारमाध्यममा प्रकाशन भएपछि उनले विज्ञप्ति सार्वजनिक गरेर स्पष्टिकरण दिएका छन् । कानुन बमोजिम जग्गा किनेको भन्दै उनले आफुबारे भ्रम फिजाउन खोजिएको उनले विज्ञप्तिमा उल्लेख गरेका छन् ।
विज्ञप्तिमा भनिएको छ, "२०६१ पुस २९ गते प्रचलित कानुनबमोजिम बिक्री गर्ने व्यक्तिको नाममा मालपोत कार्यालयमा दर्ता श्रे्रस्ता कायम रहेको र सम्बन्धित मालपोत कार्यालयले खरिद बिक्री गर्न मिल्ने यकिन गरी रजिष्ट्रेशन लिखत पारित गरी प्रचलित कानुनबमोजिम लाग्ने राजस्व लिई रजिष्ट्रेशन पास गरिदिएको जग्गा खरिद गरी लिएको हुँदा समाचारमा उल्लेख भएजस्तो जग्गा हिनामिनामा म र मेरो परिवारका सदस्यको कुनै संलग्नता नरहेको व्येहोरा सम्बन्धित सबैलाई जानकारी गराउँदछु ।"