प्रधानमन्त्रीज्यू तपाईंले रोपेका विरुवा कसले जोगाउँछ?
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले रोपेका फलफूलका विरुवा जोगाउनै मुस्किल भएको छ । गत जेठ २२ गते प्रधानमन्त्री ओलीले ‘एक नेपाली एक फलफूलको विरुवा रोपण अभियान’ सुरु गर्दा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय अगाडि एभोकाडो र लिची रोपेका थिए ।
उक्त अभियानअन्तर्गत २८ लाख ९० हजार ९ सय १९ विरुवा रोपिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषदका कार्यालयका प्रवक्ता बिनोदबहादुर कुँवरले जानकारी दिए । कार्यालयले मंसिरमा तथ्यांक प्रकाशित गरेको थियो । ‘अहिले पनि सबैतिर यो अभियान चलिरहेको छ, पछिल्लो तथ्यांक मगाइरहेका छौं’ प्रवक्ता कुँवरले भने ‘प्रधानमन्त्री कार्यालयले सबै स्थानीय तहलाई यो अभियानमा लाग्न पत्राचार गरेको छ ।’
नेपाललाई फलफूलमा आत्मनिर्भर बनाउने उद्देश्यले सुरु गरिएको अभियानअन्तर्गत ३ वर्षभित्रमा ३ करोड विरुवा रोपिसक्ने योजना रहेको कुँवरले जानकारी दिए । उनले सरकारी कार्यालयले मात्र नभएर जोसुकैले पनि यो अभियानलाई सहयोग गर्न सक्ने भएकाले फलफूलका बोटविरुवा रोप्न प्रोत्साहन गरिँदै आएको बताए । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले तयार पारेको प्रतिवेदनअनुसार मंसिरसम्म रोपिएका यी फलफूल तथा बोटविरुवामध्ये २३ लाखको पहिचान भइसकेको छ । बाँकीलाई अन्य भनेर छुट्याइएको छ ।
२८ प्रकारका फलफूल रोपिएको तथ्यांकअनुसार देशैभरको तथ्यांक हेर्दा सबैभन्दा बढी कागतीका ५ लाख ४ हजार ४ सय ९४ र सबैभन्दा कम भुँइकटहरका ५ वटामात्र विरुवा रोपिएका छन् । अलैंचीका ४ लाख ६९ हजार १ सय ५०, सुन्तला÷मुन्तलाका ३ लाख ३९ हजार ८ सय ३८, आँपका २ लाख ५९ हजार ३ सय ६५, लिचीका ८८ हजार ६ सय ३४, केराका ७४ हजार ५ सय ३४ विरुवा रोपिएका छन् । यस्तै रोपिएका अन्य विरुवामा केरा, स्याउ, अम्बा, अनार , जुनार, कटहर, ओखर, किबी, लप्सी, अंगुर, अमला, अमिलो, मौसम, नास्पाती, मेवा, हलुवाबेद, एभोकाडो, आरु, जापानिज कटुस, आरुबखाडा, खुरपानी, अंजिर र भुँइकटहर छन् ।
केही विरुवा रोपिए पनि पहिचान खुलेको छैन । ३ लाख ५४ हजार ९ सय ३२ फलफूल र ५ लाख ७४ हजार १ सय ८० अन्य विरुवाहरुको पहिचान खुलेको छैन । ‘फलफूल र अन्य बोटविरुवाले एकातिर वातावरण संरक्षण गर्दै खाली जमिनको सदुपयोग गर्छ भने अर्कातिर आफैंले फलाएको फलफूल खानाले स्वस्थ्य पनि राम्रो हुँन्छ’ कुँवरले भने ‘ यो अभियान निरन्तर चलिरहन्छ तर यिनीहरुलाई बचाइराख्न भने चुनौती छ ।’ यो खबर आजको नेपाल समाचार पत्र दैनिकबाट लिइएको हो।
केपी शर्मा ओली