अध्यक्ष ढकालसँगको भेटमा बंगलादेशी राष्ट्रपतिले भने, ‘नेपाल जाने अवसर जुरेको छैन’
ढाका (बंगलादेश) । नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालले बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदसँग शिष्टाचार भेट गरेका छन् ।
ढाकास्थित राष्ट्रपति कार्यालयमा भएको भेटमा विश्व भातृत्व, विश्व शान्ति र आपसी हितका विषयमा छलफल भएको अध्यक्ष ढकालको सचिवालयले जानकारी दिएकोछ ।
राष्ट्रपति हमिदले सो सम्मेलन सफल भएकोमा आयोजकको प्रशंसा गर्दै विश्व शान्तिमा इन्टरनेसनल एसोसिएसन अफ पार्लियामेन्टेरियन फर पिस (आइएपिपी—एसिया प्रशान्त क्षेत्र)को भूमिका महत्वपूर्ण रहेको उल्लेख गरे ।
नेपालले बिमस्टेक, एसिया प्यासिफिक समिट र इन्भेष्टमेन्ट समिट गरी तीन वटा महत्वपूर्ण सम्मेलन सफलतापूर्वक आयोजना गरेकोमा प्रधानमन्त्री केपी शर्माओली र नेपाली जनतालाई बधाई दिए ।
राष्ट्रपति हमिदले आफूले संसारका धेरै मुलुकको भ्रमण गरेको भए पनि नेपाल जाने धोको पूरा नभएको भन्दै नेपाल भ्रमणको इच्छा देखाएका छन् । करिब ४५ मिनेट भएको भेटवार्टामा निकट भविष्यमै हुने इन्टरनेसन समिट काउन्सिल फर पिसमा बंगलादेशको सक्रिय सहभागिता रहने प्रतिबद्धता जनाए । भेटमा सांसद तथा आएपिपी बंगलादेशका अध्यक्ष काजी फिरोज रसिदका साथै बंगलादेशी उच्च पदस्थ अधिकारीहरुको सहभागीता थियो ।