राजनीति

मधेशलाई देशको मुल शक्ति बनाउछौँ : अध्यक्ष प्रचण्ड

मधेशलाई देशको मुल शक्ति बनाउछौँ : अध्यक्ष प्रचण्ड

नमिता दाहाल, काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले सबैलाई स्वीकार्य हुने गरी संविधान संशोधन गर्न आफु प्रयासरत रहेको बताएका छन् ।

शुक्रबार मधेशी पत्रकार समाजद्वारा ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले तत्कालीन दुई दल नेकपा एमाले तथा नेकपा माओवादी केन्द्रबीच पार्टी एकता भएर नयाँ प्रकियामा रहेको बेला अन्य सबै पक्षलाई मुलधारमा ल्याउने प्रयास गरिरहेको जीकिर गरे । उनले सीके राउतलगायतका मधेशका दल तथा व्यक्तिलाई मुलधारको राजनीतिमा ल्याउने काममा सरकार तथा पार्टी लागेको बताए ।

संविधान जारी हुने बेला हरेक पक्षको माग सम्बोधन गर्ने प्रयास गर्दा पनि मधेशसहित केही पक्षका केही माग तत्काल समेट्न नसकिएको अध्यक्ष प्रचण्डले स्पष्ट पारे । आफु, प्रधानमन्त्री केपी शर्मा ओली तथा मधेशका नेता (उपेन्द्र यादव) बीच संविधान संशोधनका लागि लिखित सहमति नै भएकोले मधेशका माग पुरा हुने उनको भनाई छ । मधेशलाई देशको मुल शक्ति बनाउने अभियानमा आफु रहेको बताउदै उनले त्यसका लागि ईमान्दार प्रयास गरिरहेको बताए ।

मधेशी, ,मुश्लिम, आदिवासी जनजाति, दलित तथा महिलाको जागरण तथा अधिकार प्राप्तिको निम्ति एउटा ठूलो आन्दोलनको नेतृत्व आफुले गरेको र उक्त कार्यप्रति गर्वको अनुभुति भएको बताउदै अध्यक्ष दाहालले जनयुद्धको स्मरण गरे । मधेश, पहाड र हिमालको भुमिका राष्ट्रिय एकताको आधार भएको मान्यताका साथ जनयुद्धमा लागेको बताए । अहिले पनि एउटा वा अर्को समुदायलाई उपेक्षा, विभेद गरे, अधिकारको समानता नभए वा आत्मसम्मानको भावना सबैमा जागृत नभएको खण्डमा राष्ट्र र राष्ट्रिय एकता कमजोर हुने अध्यक्ष प्रचण्डले जीकिर गरे  ।

कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान पुर्याएका मधेशका १ सय जनालाई "द १०० हिरोज अफ मधेश" उपाधिबाट सम्मानित गरिएको हो ।

विशेष