ललितानिवास प्रकरणमा महासचिव ठगिनुभयो : सञ्चारमन्त्री बाँस्कोटा

काठमाडौं । सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव विष्णुप्रसाद पौडेल नै भूमाफियाबाट ठगिएको बताएका छन्। सरकारको नियमित पत्रकार सम्मेलनमा बिहीबार सञ्चार मन्त्री बास्कोटाले बालुवाटारस्थित ललितानिवास हडप्नेलाई सरकारले कुनै पनि हालतमा उन्मुक्ति नदिने बताउँदै पार्टीका महासचिव नै ठगिएको दाबी गरे।
‘उहाँ (पौडेल) आफैंले किनेको जग्गा नै नक्कली परेछ। उहाँ अपराधी होइन, पीडित हो’, मन्त्री बास्कोटाले भने, ‘सरकारी जग्गा खरिदमा उहाँ (पौडेल) को संलग्नता छैन। त्यहाँ अरू नै संलग्न छन्। सरकारले जग्गा रोक्का गरिसकेको छ। सरकारी सम्पत्तिको रक्षा गर्ने जिम्मा सरकारको हो र गर्छ। पीडित र पीडक सञ्चारमाध्यमले छुट्याउनुपर्छ।’ ललितानिवास हडप्नेमाथि कारबाही प्रक्रिया अघि बढाइसकेको दाबी गर्दै मन्त्री बास्कोटाले भने, ‘सरकारले ललितानिवास फिर्ता गर्न आवश्यक प्रक्रिया अघि बढाइसकेको छ। सरकारी जग्गा व्यक्तिको नाममा लैजानेमाथि अनुसन्धान सुरु भइसकेको छ, जोसुकैको संलग्नता भए पनि उनीहरुमाथि कारबाही हुन्छ।’ सरकारी जग्गा व्यक्तिका नाममा नामसारी गर्ने कर्मचारीमाथि कारबाही हुने उनले बताए।
सत्तारुढ दलका महासचिवले समेत ललितानिवासको जग्गा खरिद गरेकोमा उनीमाथि कारबाही हुन्छ कि हुँदैन भन्ने सञ्चारकर्मीको प्रश्नमा मन्त्री बाँस्कोटाले खरिद गर्नु अपराध नभएको बताए। ‘नेकपाका महासचिव जग्गा खरिदमा ठगिनु भएको छ। उहाँ अपराधी हैन। जग्गा नै नक्कली परेछ त के गर्ने,’ उनले भने, ‘उहाँलाई झुक्याइएछ। त्यस्ता झुक्किने मान्छे अरु पनि होलान् त्यसतर्फ तपाईंहरुले पनि ध्यान दिनुस्, यसमा सरकारले पनि सहयोग गर्छ।’ यसमा सत्तारुढ दलका हुन् या प्रतिपक्ष, दोषी देखिने कोही पनि उम्किन नपाउने उनले बताए। नेकपा महासचिव पौडेलले बुधबार विज्ञप्ति जारी गरेर ललितानिवासको जग्गा आफूले २०६१ सालमा कानुनअनुसार खरिद गरेको बताएका थिए। यो खबर आजको नागरिक दैनिकबाट लिइएको हो।
सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटा ललितानिवास