आन्दोलनको नेतृत्व लिन कस्ले दिँदै छ देउवालाई दबाब
काठमाडौं । प्रमुख प्रतिपक्षी कांग्रेस सभापति शेरबहादुर देउवामाथि सरकारविरुद्ध आन्दोलनको नेतृत्व लिन दबाब परेको छ। प्रमुख प्रतिपक्षी भएर पनि सरकारका गलत क्रियाकलापप्रति मौन रहेको भन्दै विभिन्न दलका नेताहरूले देउवालाई आन्दोलनको अगुवाइ गर्न आग्रह गरेका हुन्। देउवाले अगुवाइ गरेमा आफूहरूले साथ दिने प्रतिबद्धता नेताहरूले दिएका छन्।
राजधानीमा शुक्रबार ११ विद्यार्थी संगठनले आयोजना गरेको कार्यक्रममा सहभागी दलका नेताले सरकारका गैरसंवैधानिक क्रियाकलापविरुद्ध सशक्त भूमिका निर्वाह गर्न देउवलाई सुझाव दिए। सरकारबाहिर रहेका नेकपा क्रान्तिकारी माओवादी, नेकपा माले, राजपा, नयाँ शक्ति पार्टी, नेकपा माओवादी केन्द्र, राष्ट्रवादी केन्द्र नेपाललगायत दलहरू आन्दोलनको अगुवाइ कांग्रेसले गर्नुपर्ने पक्षमा छन्। ‘यो सरकारले प्रतिपक्षीको नेता पाएको छैन।
प्रतिपक्षीको नेता भइदिनु, हामी सहयोग गर्छौं। एक धक्कामा यो सरकार ढल्छ’, कांग्रेस सभापति देउवालाई संसद् र सडकमा सशक्त भूमिका निर्वाह गर्न आग्रह गर्दै राष्ट्रवादी केन्द्र नेपालका नेता चन्द्रबहादुर थापा ‘सागर’ ले भने, ‘नेपाली माटोले सशक्त प्रतिपक्षी नेता खोजेको छ। जनताले खोजिरहेका छन्।’ यो खबर आजको अन्नपूर्णपोस्टबाट लिइएको हो।
शेरबहादुर देउवा