नेकपा एकता : सहमति नभए पेलेरै घोषणा गर्ने ओली–दाहालको तयारी
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को एकता टुंगो लगाउन अध्यक्षद्वय केपी शर्मा ओली, पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालबीच सोमबार छलफल भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा तल्लो तहको कमिटी टुंगो लगाउने विषयमा छलफल भए पनि सहमति जुटेन । वरिष्ठ नेता नेपालले मापदण्ड, विधि, प्रक्रिया र आधारका विषयमा नेतृत्व टुंगो लगाउनुपर्ने सुझाव दिएका छन् । तर, अध्यक्षद्वय ओली र दाहाल वैशाख पहिलो सातासम्ममा सहमति गर्ने, नभए ‘पेलेरै’ भए पनि नेतृत्वको घोषणा गर्ने निष्कर्षमा पुगेका छन् । अध्यक्ष ओली र दाहालबीच यस विषयमा पटक–पटक छलफल भएको छ ।
नेकपाको अहिलेसम्ममा सचिवालय, केन्द्रीय कमिटी र प्रदेश कमिटी मात्रै गठन भएको छ । घोषणा भइसकेको प्रदेश कमिटीको विषयमा ओली, दाहाल र नेपालबीच विवाद छ । केन्द्रीय सदस्यहरूको जिम्मेवारी बाँडफाँट, पोलिटब्युरो कमिटी गठन, विभाग, जनवर्गीय संगठनको एकता, जिल्लादेखि स्थानीय तहसम्मका कमिटी अझै गठन हुन सकेका छैनन् ।
नेकपा स्थायी कमिटीका सदस्य गणेश साहले पार्टीका शीर्ष नेतृत्व तहमा एकता टुंगो लगाउने विषयमा घनीभूत छलफल भइरहेको बताए । तर, छलफल निष्कर्षमा पुग्न नसकेको बताउँदै उनले सबैलाई समेटेर योग्यता, क्षमता एवं वरिष्ठताका आधारमा जिम्मेवारी बाँडफाँट हुनुपर्ने बताए । यो खबर आजको राजधानी दैनिकबाट लिइएको हो।
केपी शर्मा ओली पुष्पकमल दाहाल ‘प्रचण्ड’