धर्मको आडमा सरकारी जमिनमा मुठ्ठीभरको चलखेल
“बागमती नदी करिडोर पनि रहेन सुरक्षित
सरकारी निकाय नै बन्यो मतियार”
सार्वजनिक जग्गा हडप्ने र कब्जा जमाउने प्रतिस्पर्धा बढ्दो छ । मानवीय भावनालाई हतियार बनाउँदै धार्मिक तथा सामाजिक कामको नाममा सार्वजनिक जग्गा कब्जामा लिने र त्यसलाई आफूखुसी व्यावसायिक प्रयोजनमा उपयोग गर्ने धन्दा आमरुपमा फस्टाएको छ । त्यसको पछिल्लो उदाहरण हो– शंखमूलस्थित आर्ट अफ लिभिङ्ग ।
बागमती कोरिडोरमा रहेको सार्वजनिक जग्गा प्रयोग गर्दै आर्ट अफ लिभिङ्गले आफ्नो प्रभाव जमाएको छ । अन्तर्राष्ट्रिय गैरनाफामूलक आध्यात्मिक संस्था भनिएको आर्ट अफ लिभिङ्गले बागमतीको सार्वजनिक जग्गा प्रयोग गर्दै आफ्नो क्रियाकलाप निर्वाध संचालन गरिरहेको छ ।
काठमाडौं महानगरपालिका वडा नं. १० स्थित बागमती कोरिडोरको झण्डै २४ रोपनी सार्वजनिक जग्गा यस सस्थाले भोगचलन गरिरहेको छ । सहरी विकास मन्त्रालय अन्तर्गत ‘अधिकार सम्पन्न बागमती सभ्यता एकिकृत विकास समिति’लाई प्रभावमा पार्दै यस संस्थाले उक्त सार्वजनिक जग्गा हात पारेको हो । यही सार्वजनिक जग्गामा आर्ट अफ लिभिङ्गले पक्की भवनका साथै योगा ध्यान पार्क निर्माण गरेको छ ।
सम्झौता एक, झेल अनेक
आर्ट अफ लिभिङ्गले बागमती कोरिडोरको सार्वजनिक जग्गामा पार्क निर्माण गर्ने र सर्वसाधारणलाई खुल्ला गर्ने भन्दै सरकारले चाहेको समयमा छाड्ने शर्तमा समितिसँग सम्झौता गरी जग्गा निःशुल्क लिएको हो ।
सार्वजनिक जग्गा तथा सरकारी सम्पतिको प्रयोग गर्दै सेवा भावमा काम गर्ने भनिएपनि उक्त संस्थाले सो क्षेत्र निजी प्रयोजनमा मात्र प्रयोग गर्दै आइरहेको छ ।
संस्थाले बनाएको पार्क सर्वसाधारण सबैका लागि नभएर संस्थाकै कर्मचारी र सदस्यहरुमा सीमित हुने गरेको छ । पार्कमा सधैजसो ताल्चा मारिएको हुन्छ । विहान बेलुका खोल्ने भनिएपनि कतिबेला खुल्छ भन्ने सूचना कतै छैन् ।
आर्ट अफ लिभिङका प्रशिक्षक तथा सेवक मदन पन्त भन्छन्, ‘स्कुल कलेजका विद्यार्थीहरु, बाहिरी मानिसहरुले फोहोर गर्ने, बिरुवा उखल्ने, फूल टिप्ने, हाँगा भाच्न थालेपछि हामीले ताला लगाउन थालेका हौं । बिहान बेलुका पार्क खुला हुन्छ । दिउँसो बन्द गर्छौं ।’
आर्ट अफ लिभिङ्गले सार्वजनिक जग्गामा स्थायी संरचनाको पक्की भवन बनाएको छ । जुन भवनमा संस्थाले धार्मिक तथा आध्यात्मिक क्रियाकलाप संचालन गर्दै आएको छ । जहाँ योगा तथा ध्यान सिकाइन्छ । जग्गा सार्वजनिक, संस्थाको उद्देश्य मानव सेवा । तर यहाँ आउने उपभोक्तासंग मोटो रकम असुली किन ?
दैनिक सयौंको संख्यामा आउने यस्ता सर्वसाधारणबाट आर्ट अफ लिभिङ्गले मनग्य पैसा कुम्लाई रहेको छ । यस विषयमा अधिकार सम्पन्न बागमती सभ्यता विकास समितिका वृक्षारोपण विज्ञ रामदयाल यादव प्रशिक्षक र पार्क संरक्षणका लागि श्रोत व्यवस्थापनका लागि आफूहरुले नै पैसा उठाउने स्वीकृति दिएको बताउँछन् ।
‘योगा ध्यानका लागि प्रशिक्षकहरु बाहिरबाट ल्याउनु पर्ने र तिनिहरुको खाना, खाजा तथा बन्दोवस्तका लागि र पार्कको सुरक्षार्थ शुल्क उठाउनु परेको हो । त्यसका लागि हामीले नै सो संस्थालाई स्वीकृति दिएका हौं ।’
एक त सरकार सार्वजनिक जग्गा, अर्को तर्फ पैसा उठाउने अनुमति । सरकार अन्तर्गत रहेको बेग्लै प्रकृतिको काम गर्न खडा भएको एउटा समितिले पैसा उठाउने अनुमति दिने यो कानुनसम्मत पटक्कै देखिदैन् ।
अझ संस्थाले गरेको सम्झौतामा बागमतीको उक्त जग्गा कहिलेसम्म भोग चलन गर्न पाउने र कहिले छाड्नु पर्ने भन्ने समय सीमा समेत स्पष्ट खुलाइएको छैन । यदि सरकारले चाहेको र सम्झौता अनुसार काम नभएको पाइएमा मात्र भनेर विकल्प राखिएको छ । यस्तो काइते सम्झौताले उक्त संस्थाले लामो समयसम्मै राज गर्ने देखिन्छ ।
सार्वजनिक जग्गाको दुरुपयोग मात्र होइन यस संस्थाले धर्मकै नाममा सरकारी जग्गा कब्जा गर्ने रणनीति स्पष्ट बुझ्न सकिन्छ ।
यस्तै धर्मको खोलमा गुरु कमलनयन आचार्यले राष्ट्रिय निकुञ्ज कब्जा गरेर बसे । त्यसैगरी ओशो ध्यान केन्द्र तपोवनको नाममा नागारजुन राष्ट्रिय निकुञ्जको वन अतिक्रमण गरिरहेको छ । कतै आर्ट अफ लिभिङ्गको नियत पनि त्यही त हैन ?
बागमती कोरिडोरमा रहेका सार्वजनिक जग्गा धेरै अतिक्रमण भएका छन् । आर्ट अफ लिभिङ्ग रहेकै क्षेत्रमा समेत धेरै क्षेत्रफलमा जग्गा अतिक्रमण भएका छन् । तिलगंगा आँखा अस्पतालदेखि थापाथली सम्मको क्षेत्रमा अतिक्रमण बढेको छ । सुकुम्बासी र धार्मिक संस्था तथा सेवा कर्महरुले बागमतीको जग्गा कब्जा गरेका छन् । तर यस विषयप्रति सकारको कुनै चासो छैन । कालान्तरमा यस विषयमा गम्भिर समस्या आउने प्रष्ट छ । कतै आर्ट अफ लिभिङ्गको मनसाय पनि त्यही त होइन ? गम्भीर प्रश्न खडा गराएको छ ।
यो मात्र होइन आर्ट अफ लिभिङ्ग रहेकै जग्गामाथि अर्को धार्मिक संस्था ओम शान्तिले समेत सार्वजनिक जग्गामाथि आफ्नो पकड जमाउन सुरु गरिसकेको छ । यसले पनि बागमती कोरिडोरको सार्वजनिक जग्गामा पार्क तथा संरचना खडा गर्न शुरु गरिसकेको छ । अब यसले पनि सार्वजनिक सम्पतिमाथि आफ्नो मनपरी चलाउने निश्चित जस्तै छ । अनि यसरी नै क्रमशः सार्वजनिक जग्गा कब्जा गर्दै जाने हो भने सरकारी सम्पतिको हालत के होला ?
अन्य क्षेत्रको भन्दा धार्मिक क्षेत्रको प्रभाव बढी हुन्छ । यसको महत्व र संवेदनशीलता मानवीय भावनासँग जोडिने हुँदा यसको प्रभाव मजबुत रहन्छ । र जुगांैजुगसम्म राज गरिरहन सक्छ । यसलाई ऐन, नियम र कानुनले समेत छुन नसक्ने हुन सक्छ । त्यसैले यसैको भावनात्मकतामा टेकेर आर्ट अफ लिभिङ्गले सार्वजनिक जग्गा कब्जा गर्न त खोजिएको छैन ?