राजनीति

वाइसिएल र युवा संघमा देखियो ‘टसल’, एकता प्रक्रिया नै बिथोलिन सक्ने

वाइसिएल र युवा संघमा देखियो ‘टसल’, एकता प्रक्रिया नै बिथोलिन सक्ने

बारा र पर्सा जिल्लामा बितण्डा मच्चाएको हावाहुरी अहिले सत्तारुढ दल नेकपा भित्र प्रवेश गरेको छ । यो हावाहुरीले नेकपाका दुई भ्रातृ संगठन युवा संघ र वाइसिएल भित्र खटपट उत्पन्न गराएपछि नेकपाको एकता प्रक्रिया नै बिथोलिन्छ कि भन्ने आशंका उत्पन्न भएको छ । 

 


प्रसंग हो बारा र पर्सा जिल्लाका हावाहुरीबाट पीडितलाई राहत दिने बिषय । यसका लागि पूर्व नेकपा एमालेको भ्रातृ संगठन युवा संघ र नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन वाइसिएलले राहत बितरण गर्ने तयारीका लागि सोमबार बैठक बोलाएका थिए । 

 


दुवै संगठनले मिलेर हावाहुरी प्रभावित क्षेत्रमा राहत बाँड्ने भनेर युवा संघको कार्यालय बुद्धनगरमा बैठक बोलाइएको थियो । बैठकमा युवा संघका इन्चार्ज महेन्द्र पाण्डे र वाइसिएलका इन्चार्ज मणि थापा पनि उपस्थित थिए । तर, दुर्भाग्य ! वाइसिएलका कुनैपनि नेता बैठकमा सहभागी भएनन् । उनीहरुले अघोषितरुपमा बैठक बहिष्कार गरे । युवा संघका अध्यक्ष रमेश पौडेलसहित सबै उपस्थित थिए । 


वाइसिएलका अध्यक्ष दीपशीखा बैठकमा सहभागी नभई सिधै बारा गए । उनले त्यहाँ नेकपा अध्यक्ष पुष्पकमल दाहालले बितरण गर्ने राहत सामग्रीको जोहो गरे । अध्यक्ष दाहालले पनि वाइसिएलकै योजना अनुसार मंगलबार राहत सामग्री बाँडे । 

 


यसरी अध्यक्ष दाहालले नै वाइसिएललाई काखी च्यापेपछि युवा संघका नेताहरु आक्रोशित भएका छन् । दाहालले भ्रातृ संगठनको बैठकमा सहभागी नभइ आफनो चाकडीमा आएकालाई प्रोत्साहन गरेको उनीहरुको आरोप छ । 

 


युवा नेता किरण पौडेलको नेतृत्वमा सहयोग संकलन समिति गठन गरी योजनाबद्धरुपमा अघि बढिरहेकाबेला दीपशीखासहितका नेताहरुले जुन हर्कत देखाए यसले समग्र पार्टीमै गम्भीर अशर पर्ने युवा संघका जिम्मेवार एक नेताले बताए । 

 


‘पार्टी एकताका बाँकी प्रक्रिया टुंग्याउने प्रयास भैरहेकाबेला कतै यो प्रकरणबाट एकता प्रक्रिया नै भाँड्न खोजेको त होइन ? हामीलाई आशंका छ’ उनले भने । 

वाइसिएल युवा संघ

विशेष