राजनीति

आफ्नै पार्टीका बहालवाला मन्त्रीविरुद्ध पूर्वमन्त्रीको कटाक्ष

आफ्नै पार्टीका बहालवाला मन्त्रीविरुद्ध पूर्वमन्त्रीको कटाक्ष

काठमाडौं । पूर्वशिक्षामन्त्री धनीराम (डीआर) पौडेलले आफ्नै पार्टीका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलविरुद्ध सामाजिक सञ्जाल (फेसबुक) मार्फत् कटाक्ष गरेका छन् । यही वैशाख ११ र हिजो १२ गते भक्तपुरको बोडेमा सार्वजनिक विद्यालय सुधारका लागि आयोजना गरिएका राष्ट्रिय सम्मेलन उपलब्धिहीन भएको अधिकांशको आरोप भइरहेका बेला पूर्वमन्त्री पौडेलको पनि यस्तो स्टाटस आएको हो ।

बहालवाला मन्त्रीको क्रियाकलापप्रति आक्रोश पोख्दै उनले लेखेको स्टाटसमा भनिएको छ– ‘सार्वजनिक विद्यालयको रुपान्तरण, सबलीकरण, सशक्तीकरण र सुदृढीकरण नीति, विधि, योजना र कार्यक्रमबाट हुने हो कि सम्मेलन र भेलाले हुने हो ?’

उनले लेखेका छन् ‘आफैंले आफ्नै मन्त्रीको अध्यक्षतामा गठन गरेको उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले ५ महिना ७ दिन लगाएर तयार गरेको सार्वजनिक विद्यालयको प्रवद्र्धनका सुझाव र सिफारिससहितको प्रतिवेदनसहित नीति, विधि र कानूनका मस्यौदा घर्रामा थन्क्याएर देशभरिबाट सार्वजनिक विद्यालयसँग सम्बद्ध केही मान्छे काठमाडौंमा बोलाएर भाषण सुनाएर पठाएपछि सार्वजनिक विद्यालयको सबलीकरण र सुदृढीकरण हुन्छ, तिनले गुणस्तरीय शिक्षा दिन थाल्दछन् भन्ने ठूलो भ्रममा सरकार परेको देखियो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय त्यसमा फसेको हो कि फसाइएको हो ?’

यसअघि अधिकांश योजना निर्माण गर्दा मन्त्री पोखरेलले पूर्वशिक्षामन्त्रीको हैसियतले पौडेलसँग सल्लाह लिने गर्थे । स्रोतको आरोपअनुसार पछिल्लो समयमा मन्त्री पोखरेलले एकलौटी निर्णयमार्फत् विभिन्न नयाँ योजना तय गर्दै आएका छन् । यो खबर आजको राजधानी दैनिकबाट लिइएको हो।

गिरिराजमणि पोखरेल धनिराम पौडेल

विशेष