विविध कार्यक्रम गरि मनमोहन अधिकारीको स्मृति दिवस मनाइँदै
काठमाडौं । नेपालका पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको स्मृति दिवसमा आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ । विसं १९७८ सालमा काठमाडौंमा जन्मेका तत्कालिन नेकपा एमालेका पूर्व अध्यक्षसमेत रहेका अधिकारीको २०५६ साल वैशाख १३ गते निधन भएको थियो । लामो राजनीतिक संघर्षको क्रममा उनले १७ वर्ष जेल जीवन बिताएका थिए ।
पढाइको सिलसिलामा भारतको बनारसमा रहँदा भारत छोडो आन्दोलनमा सहभागि हुँदा उनी बनारसमा जेल परेका थिए । जेलमा भारतीय कम्युनिष्ट नेतासँगको सम्पर्कमा उनी कम्युनिष्ट पार्टीमा संगठित भएका थिए । अधिकारीले २००३ सालमा विराटनगरमा भएको मजदूर हडतालको नेतृत्व गरेका थिए । अधिकारी २०५१ सालमा देशको पहिलो कम्युनिष्ट प्रधानमन्त्री भएका थिए । उनी नेतृत्वको ९ महिने सरकारले आफ्नो गाउँ आफै बनाउँ, बृद्धभत्ता जस्ता लोकप्रिय कार्यक्रम सुरु गरेको थियो । मनमोहन अधिकारी सादा जीवनशैली र इमानी नेताका रुपमा पनि चिनिन्छन् ।
मनमोहन अधिकारी