राजनीति

"हामी सबैले राम्रो कुरा गर्न जान्ने भयौ तर राम्रो काम गर्ने भएनौ"

"हामी सबैले राम्रो कुरा गर्न जान्ने भयौ तर राम्रो काम गर्ने भएनौ"

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले एकले अर्कालाई कमजोर पार्नुको सट्टा सबैले आफ्नो भुमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका छन् ।

 

शुक्रबार बेलुका काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले नेताले आफ्नो काम र अरु सबैले आफ्नो काम गर्दै एकअर्काका बीचमा सकरात्मक सहयोग र सहकार्य गर्नुपर्ने आवश्यकता औंल्याएका छन् ।

 

कार्यक्रममा सहभागीले आर्थिक गतिविधि, विकास र निर्माणलाई जति जोड दिनुपर्ने त्यति दिइएको छैन राजनीति मात्र भयो भन्दै राखेको जिज्ञासामा अध्यक्ष प्रचण्डको जवाफ थियो, "धेरै विकास भएका देशमा इतिहासमा हामी जस्तो राजनीति सयौं वर्ष गरेर बिताएका छ्न । तत्पश्चात मात्र अन्तिम सार निकालेर प्रगतिमा पुगेका छन् । तर हामीले छोटो समयमा राजनीतिलाई स्थिर बनाएका छौ र आर्थिक विकासमा केन्द्रित हुने जमर्को गरेको हुनाले निराश हुनुपर्ने स्थिति छैन ।"

 

मुलुकले प्राप्त गरेको परिवर्तित परिस्थितिमा विकासमै केन्द्रित हुनुपर्नेमा अध्यक्ष प्रचण्डको जोड छ । उनले भने, "एक पटक अवसर आएको छ यसको सदुपयोग गर्नुपर्छ । कुरा सबैले राम्रो गर्न जान्ने भयौ तर राम्रो काम गर्ने भएनौ । कुरा अलि नराम्रो गरे केही बिग्रिदैन तर काम चाहीँ राम्रो गर्ने भइयो भने सुधार त्यहीबाट सुरु हुने हो । सुशासनका कुरा हामी धेरै गर्छौ तर हामी कहाँ तलदेखि माथिसम्म कुशासन गर्ने प्रवृति जबरजस्त कायम छ ।"

 

अध्यक्ष प्रचण्ड थप्छन्, "भ्रष्टाचारमा शुन्य सहनशीलता भन्छौ तर जीवन व्यवहारमा हेर्ने हो भने झनै बढेको छ । विकास निर्माणमा पनि एकीकृत राष्ट्रिय संकल्प अझै आइसकेको छैन् । ठुल्ठुला घोषणा गरिएपनि व्यवहार ल्याउन सकिएको छैन् । कहाँबाट कसले सुरु गर्ने भन्ने हो भने राजनीति नेतृत्व र सरकारले गर्नुपर्छ । हामीले राष्ट्रलाई आउने केही वर्षमा समृद्धिको यात्रामा ल्याउन सकेनौ भने भयानक राजनीतिक अराजकता हुन्छ ।"

 

"हामीले पहिला टाउकोलाघ ठिक गर्नुपर्यो । सोच्ने क्षमता सुधार्नुपर्नेछ । जनातको सेवा गर्ने र समृद्धिका लागि इमान्दार काम गर्ने जनशक्ति चाहिएको छ । अहिले राजनीतिक नेतृत्वले विकास र समृद्धि भनेको छ  र नीजि क्षेत्रले पनि त्यही भनिरहेको छ । हामी सबैले समृद्धिका कुरा गर्न थालेका छौ । सरकारले पनि समृद्ध नेपाल र सुखी नेपालीको नारा अघि सारेको छ । यसका लागि सबै क्षेत्र मिलेर जानुपर्छ ।" अध्यक्ष प्रचण्डले भने ।

विशेष