प्रदेशमा कम्युनिष्टको सरकार बने मात्र मधेशको विकास हुन सक्छ: प्रचण्ड
एलिजा श्रेष्ठ, ललितपुर। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान गतिशील दस्तावेज भएको बताएका छन् । मधेस तराई फोरमका नेता तथा कार्यकर्तालाई मंगलबार निवास खुमलटारमा पार्टी प्रवेश गराउदै अध्यक्ष दाहालले जनताको माग र आवश्यकता अनुसार संविधानमा परिमार्जन, विकास र संशोधन हुने बताए ।
अध्यक्ष प्रचण्डले जनतालाई बढी भन्दा बढी अधिकार दिनका लागि आफूले संविधान संशोधन गराउन प्रयत्न गरेको बताए । संविधानलाई जीवन्त दस्तावेजको संज्ञा पनि दिदै उनले संविधान संशोधनका लागि प्रधानमन्त्री एवं नेकपाका अर्का अध्यक्ष केपी ओलीसंग छलफल गरेर प्रक्रिया सुरु गर्ने धारणा राखे । सबैतिरको जनताले विकासको अनुभूति गरुन् भन्न चाहना आफूहरुको रहेको भन्दै तयार मधेश क्षेत्रमा बिशेष कार्यक्रम ल्याउने तयारी भइरहेको उनले जानकारी दिए ।
उनले भने, "हुलाकी राजमार्ग निर्माणलाई सरकारले प्राथमिकतामा राखिएको छ, तराई मधेशलाई राजधानीसंग जोड्ने फाष्ट ट्र्याकको काम पनि अघि बढेको छ ।" तराई मधेसमा कम्युनिष्ट नेतृत्वकै सरकार बने मात्र त्यहाँको जनताको हितमा हुन अध्यक्ष दाहालको भनाई थियो ।