ठमेलमा हुँदैछ देउवाविरुद्ध मोर्चाबन्दी
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा कम बोल्छन् तर जब बोल्छन् निशानामा कोही न कोही परेकै हुन्छन् । पछिल्लो समय उनको निशानामा प्रधानमन्त्री केपी शर्मा ओली छन् । देउवाले सरकारविरुद्ध निशाना साँधिराख्दा उनी आफै निशानामा परेका छन् ।
सभापति देउवाविरुद्ध पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल र जिल्ला सभापतिहरु मोर्चा कस्दै काठमाडौंको ठमेलमा भेला गरिरहेका छन् । नेता पौडेल तथा कृष्णप्रसाद सिटोला निकटका नेताहरु एक ठाउँमा भेला भएका छन् । बुधवार सुरु भएको दुई दिने भेलाको मुख्य उद्देश्य जिल्ला सभापतिको माग पुरा गराउनु तथा सभापति देउवालाई दबाब दिनु हो । स्रोतका अनुसार उक्त भेलामा ५६ जिल्लाका सभापतिहरु सहभागी छन् ।