प्रदेशलाई अधिकार सम्पन्न बनाउनुपर्छ: उपप्रधानमन्त्री यादव
इटहरी। उपप्रधान एवम स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री उपेन्द्र यादवले संघीयताको मर्मबमोजिम प्रादेशिक सरकारलाई अधिकार सम्पन्न बनाउनुपर्नेमा जोड दिएका छन् ।
सङ्घीय समाजवादी फोरम नेपालको इटहरी उपमहानगरको दोस्रो अधिवेशनको उद्घाटन कार्यक्रममा संबोधन गर्दै फोरम केन्द्रिय अध्यक्षसमेत रहेका यादवले अधिकार प्रदेशलाई सीमित अधिकार दिएर खुम्च्याउने प्रयास भएको बताए । प्रदेश सरकारभन्दा संघ र स्थानीय तहलाई धेरै अधिकार प्रदान गरिनु गलत भएको यादवको भनाई छ ।
उनले भने, "संविधान निर्माण गर्दा जातीय, भाषिक, धार्मिक र सांस्कृतिक विविधतालाई सम्बोधन गर्नेगरी सङ्घीय प्रणाली अगाडि बढ्न सकेन । शोषित र पीडित जनताको मुक्ति र स्वतन्त्रताको लागि सङ्घर्ष गर्न अझै बाँकी छ ।" ३ दिनसम्म चल्ने अधिवेशनमार्फत फोरमको इटहरी नगर समितिको नयाँ नेतृत्व चयन हुनेछ ।