कविताः ‘सेल्फी राहत’
निर्मल घिमिरे
बितिसक्दा बल्ल चौथो दिन
उग्रियो केही आकाश
आगनमा
गिट्टीका गेगरैगेगर
अनि बडेमानका बालुवाका थुप्रा
मझेरीदेखि सागबारी
वस्तुभाउको गोठदेखि, पुरियो तुलसी मठसम्मै
मक्किएर बाँसका भाटा
भरिएका छन् सबै बाटा
चुहिएर खरको छाना
टुसाउँदै छन् भिजेका दाना
बडो मुस्किलले ज्यान बचाएका लालाबाला
चिच्याउँदै, कराउँदै भोकले
तर अहँ छैनन्
न कोही जनप्रतिनिधि
न त कोही उद्धारकर्ता
न त राहतकर्ता ।
भँगाल थुनिएर
पाँचौं दिनसम्म पनि
अहँ सम्भव नै छैन
बाहिर निस्कने
केवल हो–हल्ला अनि चिच्याहट
चारैतिर दुर्गन्ध मरेका चौपायाको
उँदो–उँभो गर्दैछन्
घरका लालाबाला
नपाएर शुद्ध पानी
रोग व्याध अनि सम्भावना माहामारीको
यसपालिको बारा–पर्साको बिपत्तिमा
अक्रान्त छ यो देहाती बस्ती
उहँ त्यत्रो दिन बित्दासमेत
छैनन् कोही
सान्त्वना अनि राहत दिने ।
क्षितिजपारि सुगम ठाउँमा
राता टोपी, नीला प्लेटका सुँडवाला गाडी
साइरन बजाउँदै देखिँदैछ राहत बाँडेका
बोरीका बोरी अनाज, गुन्टो भरी कपडा
कैयौं भाँडा वर्तन, विदेशी त्रिपाल
अहँ छैठौँ दिन वितिसक्दा पनि
झुल्किएनन् कोही सो घरमा
न त स्वदेशी, न त विदेशी नै
भोको पेट अनि राज्यविहीनता
सराप्दै छन् सरकार र दातालाई
बैठकमै मात्र डाटा केलाइरहेकामा
अनि अघिल्लो चुनावमा भोट हालेकै आधारमा
राहतमा विभेद भएकोमा
मुर्मुरिन्छन्
बाढीपीडित भन्दा धेरै
राज्यपीडित भएकोमा ।
सातौ दिनको मध्यान्ह
साइरन बजाउदै
सहरबाट एक चिल्लो कार
आयो सोझिएरै त्यही घरमा
भोको पेट
ओशले ढाडिएका आशातित् शरीर
बढो उत्साहका साथ
उचालिएका छन् सबैका भृकुटी
सरर आई रोकिन्छ ट्याक्क
सुकुमार–सुकुमारीहरु निस्किए फुत्तफुत्त
सानो कोण सभा–राहत औचित्यको भाषण
बज्छ परर्रताली ।
घरका सबैभन्दा वृद्ध र नाबालकलाई
अगाडि डाकी
महँगो ट्याबलेट अनि आइफोन ब्रान्डले
खिचे धेरै सेल्फी, ङिच्च हाँस्न लगाई
थमाएर एक पाकेट भुजा र चाउचाउ
जे–जे भन्छन्, जसरी हाँस भन्छन्
गरे उनीहरूले पनि सोही नै
खिचेका सेल्फी पोस्टलाई
अंग्रेजी क्याप्सन दिई
पठाइदिए फेसबुक र ट्विटर भरी
अनि फर्किए सामूहिक फोटो सेसन गरी
चाउचाउको संख्या र पीडितको संख्या
गणना नगरे पनि
लाइक र कमेन्ट
छिन छिनमै गन्दै
गर्व गर्दैछन्
राहत बाँडेकामा
गर्व गर्दैछन्
सेल्फी राहत बाँडेकामा ।
हरिवन नगरपालिका–१० सर्लाही
हाल: जापान