शिक्षामा गुणात्मक सुधार गरे मात्र मुलुकमा रोजगारी सृजना हुन्छ : प्रचण्ड
काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले शिक्षा नीतिमा गुणात्मक सुधार गरे मात्र मुलुकमा रोजगारीका अवसर सृजना हुने जीकिर गरेका छन् ।
बुधबार काठमाडौंमा शुरु भएको राष्ट्रिय विकास परिषद्को बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले पढेलेखेका जनशक्तिमा नै विदेश गएर जागिर खाने प्रवृति बढेको हुनाले यथाशीघ्र मुलुकभित्रै रोजगारी सृजना गरी उनीहरुलाई उत्पादनशील क्षेत्रमा लगाउनुपर्ने बताए । त्यसका लागि शिक्षामा सुधार गर्दै राज्यले दिर्घकालीन सोचमै दक्ष जनशक्ति उत्पादन गर्ने काम पहिलो प्राथमिकतामा राख्नुपर्ने बताए ।
परिषद् बैठकबारे प्रचण्डले भने, "नेपालमा २००७ वरिपरिबाट धेरै राजनीतिक गरिवर्तन भए तर ती सबै भन्दा यो पटकको परिर्वतन गुणात्मक छ जसले राजनीतिक प्रणाली र संरचनामा ठूलो परिर्ततन ल्याएको हो । सामान्यत परम्परागत रुपले विगतको योजनाको समीक्षा र नयाँ योजना कार्यक्रम प्रस्तुत गर्ने प्रकिया मात्र होइन, विगतको सोच तथा योजना निर्माणको प्रकिया र प्रणालीभन्दा गुणात्मक ढङगले फड्को मार्ने गरी बैठक बसेको हो ।"