साहित्यिक धाम बन्दैछ झमकको घर
काठमाडौं । ब्रिटिस वैज्ञानिक स्टेफेन हकिन्सको सम्झना दिलाउने झमक कुमारी घिमिरेको व्यक्तित्व र कृतित्वले हरेकलाई तान्ने गरेको छ । उनको यही प्रभावका कारण धनकुटा कचिँडेस्थित घर साहित्यानुरागीहरूका लागि धामजस्तै बनेको छ ।
काठमाडौंबाट पूर्वको भ्रमणमा निस्किएको कलमकर्मी झमकलाई नभेटी आफ्नो यात्रा सफल भएको ठान्दैनन् । उनको प्रतिभाबाट हरेक मानिस कायल हुन्छ । खुट्टाको तीनवटा औंला मात्र चल्ने झमकले थुप्रै कृति लेखेकी छन् ।
हरेक दिनजस्तै झमकलाई भेट्नेको भीड लाग्छ । स्कुले विद्यार्थी, प्राज्ञिक व्यक्तित्वदेखि नेताहरू यहाँ पुग्ने गरेका छन् । कसैसँग दुःख नपोख्ने झमक नयाँ मान्छे भेट्नासाथ खुट्टाले लेखेर परिचय माग्छिन् । भेटन आउनेको उद्देश्य सोध्छिन् । साहित्यिक गतिविधिबारे जानकारी गराउँछिन् ।
आफूभन्दा जुनियरलाई प्रोत्साहित गर्छिन भने मान्यजनलाई सत्कारपूर्वक कृतिको विषयमा समीक्षा गर्छिन् । उनी हरेक विषयमा अपडेट भएर रहन्छिन् । दयाभाव देखाउने खालका मानिस उनलाई कति पनि मन पर्दैन ।
आमा आशादेवी घिमिरे र बहिनीले उनको दैनिकीमा सघाउँछन् । बजारमा निस्किएका साहित्यिक कृति नपढेको विरलै हुन्छ । राजनीति गर्दिनन् तर बुझ्छिन् । रेडियो, टिभी र पत्रपत्रिका सुन्न, हेर्न र पढ्न छुटाउँदिनन् ।
प्रतिकूल शारीरिक अवस्थाका बाबजुद् यस्तो बेजोड विश्वका दश लेखकमध्ये झमक अग्रपंक्तिमा पर्छिन् । जन्मदेखि नै हात गोडा नचल्ने, उभिन, हिँड्न, बोल्न नसक्ने तर सुन्न र बुझ्न चाहिँ सक्ने उनले औपचारिक शिक्षा लिएकी छैनन् ।
भाइबहिनी पढेको देखेर आफूभित्र चेतनाको विकास गरेकी झमकले मदन पुरस्कार मात्र जितेकी छैनन, उनको उच्च प्रतिभाको सम्मान गर्दै मध्यपश्चिम विश्वविद्यालयले विद्यावारिधि उपाधि प्रदान गरेको छ ।
सरकारले प्रबल गोरखा दक्षिणबाहु चौथाले विभूषित गरेको छ । काठमाडौंको गोठाटारमा उनका लागि आवास सुविधा तयार छ । यद्यपि बस्न शुरु गरेकी छैनन् ।
यी सबै सामग्रीहरू पब्लिक न्युज एजेन्सी (www.publicnewsagency.com)बाट साभार गरिएको हो। तपाईंहरूले पनि आफूलाई आवश्यक पर्ने सामग्रीहरू पब्लिक न्युज एजेन्सीमा निःशुल्क खाता खोलेर साभार गर्न सक्नुहुने छ। साथै पब्लिक न्युज एजेन्सीका लागि समाचार सामग्री र विभिन्न संघसंस्थाका प्रेस विज्ञप्ति पनि सम्प्रेषण गर्न सक्नुहुने छ।
झमक घिमिरे