राजनीति

मन्त्रीहरू नै कानुन मान्दैनन्, अझै बुझाएनन् सम्पत्ति विवरण

मन्त्रीहरू नै कानुन मान्दैनन्, अझै बुझाएनन् सम्पत्ति विवरण

चार जना मन्त्रीले अझै सम्पत्ति विवरण बुझाएका छैनन्। सम्पत्ति विवरण नबुझाउनेमा उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादव, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकाल, शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राई र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री सुरेन्द्रकुमार यादव छन्।

 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को वेबसाइट सर्च गर्दा उनहरूले सम्पत्ति विवरण बुझाएको नदेखिएको हो। स्मरणीय छ, मन्त्री भएको ६० दिनभित्र उक्त विवरण बुझाउनुपर्ने कानुनी प्रावधान छ। सम्पत्ति विवरण नबुझाउनेमध्ये कानुनमन्त्री ढकालबाहेक अरू तीनैजना मन्त्री संघीय समाजवादी फोरम नेपालका हुन्।

 

फोरमका यादव र राई २०७५ जेठ १८ गते मन्त्री भएका थिए। यादव र राई मन्त्री भएको १० महिना बितिसकेको छ। सुरेन्द्रकुमार यादवलाई केहीपछि मात्र राज्यमन्त्री बनाइएको थियो। बंगलादेशमा एमबिबिएस अध्ययनरत छात्राको विषयमा दिएको अभिव्यक्तिउपर आलोचना भएपछि तत्कालीन कानुनमन्त्री शेरबहादुर तामाङले साउन ८ गते राजीनामा दिएका थिए। त्यसपछि साउन १८ गते ढकाल कानुनमन्त्री बनेका थिए।

 

२०७४ फागुन ३ गते, फागुन १४ गते, चैत्र २ गते, जेष्ठ १८ गते र साउन १८ गते मन्त्रिपरिषद् विस्तार र पुनर्गठन भएको थियो। फागुन १५ गते ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीको निधन भएपछि उक्त मन्त्रालय पनि प्रधानमन्त्रीले नै हेर्दै आएका छन्। तर, उक्त वेबसाइटमा मंगलबारसम्म दिवंगत मन्त्री अधिकारीको नाम राखिएको थियो भने बुधबारदेखि प्रम ओलीको नाम छ।

 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता विनोदबहादुर कुँवरले मन्त्रीहरूले सम्पत्ति विवरण बुझाएको भए पनि वेबसाइटमा अपलोड नभएको हुनसक्ने बताउँदै भने– ‘मन्त्रिपरिषद्को बैठकले वेबसाइटमा राख्ने निर्णय गरेपछि मात्र राखिन्छ, बैठक महाशाखाले यसलाई हेर्छ।’ सरकारमा प्रधानमन्त्रीसहित २१ मन्त्री र ३ राज्यमन्त्री छन्। यो खबर आजको नेपाल समाचार पत्र दैनिकबाट लिइएको हो ।

केपी शर्मा ओली उपेन्द्र यादव भानुभक्त ढकाल सुरेन्द्रकुमार यादव मोहम्मद इस्तियाक राई

विशेष