काङ्ग्रेस हलचलबाट गुज्रेको छ
बागलुङ। नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य महेश आचार्यले पार्टी गुटगत भासमा फसेको बताएका छन् । नेपाल प्रेस युनियनद्वारा आज बागलुङमा आयोजित पत्रकार भेटघाटमा उनले चुनावपछि काङ्ग्रेस हलचलबाट गुज्रेको उल्लेख गरे ।
नेता आचार्यले भने, "पार्टीको आन्तरिक शक्ति सङ्ग्रह पनि हुनसकेको छैन । गुटगत विभाजनबाट काङ्ग्रेसलाई बाहिर निकाल्न कोशिस भइरहेको छ ।’ पार्टी कमजोर भएका कारण प्रतिपक्षीको भूमिका पनि अर्थपूर्ण हुन नसकेको उनको भनाइ छ । पूर्वअर्थमन्त्री समेत रहेका नेता आचार्यले मुलुको समृद्धिका लागि विदेशी लगानी र प्रविधि भित्र्याउनुपर्नेमा जोड दिए ।
सरकारले हालै गरेको लगानी सम्मेलनबाट अन्तर्राष्ट्रिय समुदायमा सकारात्मक सन्देश प्रवाह भएको उनको भनाइ छ । पूर्णतया लगानीयोग्य वातावरण नबनेसम्म विदेशी लगानी नभित्रने उनको जिकिर छ । उद्योगी, व्यवसायीलाई लगानीका लागि उत्प्रेरित गर्ने गरी नीतिगत र संरचनागत सुधार गर्नुपर्नेमा उनले जोड दिए ।