सम्पदाका बैरी
महानगर त अरू पनि छन्, स्रोत साधनसम्पन्न र उच्च जनघनत्व रहेको काठमाडौंको साख मेयर विद्यासुन्दर शाक्यले जोगाउन सकेनन् । चुनावअगाडि घोषणा गरेका मेट्रोरेल, मोनोरेलजस्ता घना प्रोजेक्टमा उल्लेख्य प्रगति भएन नै, धूलो, बाटो, नालीजस्ता आधारभूत पाटो अझ अस्तव्यस्त भए । वर्षको अन्तिमतिर धूलो उठाउने ‘ब्रुमर’ ल्याइयो तर यसको निरन्तरता र प्रभावकारीताको परीक्षा हुनै बाँकी छ ।
सम्पदाप्रतिको असंवेदनशीलताले शाक्यलाई अलोकप्रिय बनाउन थप भूमिका खेल्यो । भूकम्पले क्षतिग्रस्त सम्पदा पुननिर्माण गर्नुपर्ने चुनौतीलाई अवसरमा बदल्न सकेनन् । बरू महानगरपालिकाले जहाँ छोयो, त्यही विवाद निम्तियो । रानीपोखरी लफडाको केन्द्रमा भइहाल्यो । काष्ठमण्डप स्थानीय अमानतमा पुनर्निर्माण गर्ने पूर्ववत निर्णय बदर गरियो । बागदरबारको पुरातात्विक महत्वलाई कुल्चदैँ भत्काउनुुपर्ने एकोहोरो अडानमा शाक्य लागे । हनुमानढोका क्षेत्रभित्र महर्जन बिजनेस कम्प्लेक्सलाई मापदण्डविपरीत नक्सा पास गरिदियो । गहनापोखरीको प्राचीनता नामेट पारिसक्दा पनि मेयरले पत्तै पाएनन् ।
नेपाल साप्ताहिकबाट साभार