राजनीति

समाजवादी पार्टीले प्रमुख शहरमा आमसभा गर्ने

राजपासंग एकताका लागि वार्ता टोली गठन

समाजवादी पार्टीले प्रमुख शहरमा आमसभा गर्ने

काठमाडौँ।  नवगठित समाजवादी पार्टीले एकताको सन्देश दिन सातवटै प्रदेशका मुख्य शहरमा आमसभा गर्ने भएको छ। पार्टी एकताको सन्देशका साथै अगुवा कार्यकर्तालाई अभिमुखीकरण गर्ने उद्देश्यका साथ कार्यक्रम गर्न लागिएको हो । 
    
 विराटनगर, पोखरा, जनकपुर वीरगञ्ज, भैरहवा, नेपालगञ्ज र धनगढीमा गरिने कार्यक्रमलाई पार्टीका केन्द्रीय समिति अध्यक्ष उपेन्द्र यादव र सङ्घीय परिषद्का अध्यक्ष डा बाबुराम भट्टराईले सम्बोधन गर्ने गरी कार्यक्रम तय गरिएको छ।
    
 आगामी जेठ ११ गते विराटनगर, १२ गते जनकपुर, १३ गते वीरगञ्ज, १७ गते भैरहवा, १८ गते नेपालगञ्ज, १९ गते सुर्खेत, २१ गते धनगढी र २५ गते पोखरामा सम्बोधन गर्ने कार्यक्रम छ। काठमाडौँमा भने पार्टी एकीकरणको दिनलाई नै आधार मानिने छ।
    
 

राजपासँग वार्ता पहल


    
समाजवादी पार्टीले राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) सँग पार्टी एकीकरणका लागि पहल थालेको छ। पार्टीका सहअध्यक्ष राजेन्द्र श्रेष्ठको संयोजकत्वमा गठित पाँच सदस्यीय वार्ता टोलीले आवश्यक छलफल शुरु गरेको सो पार्टीले जनाएको छ। वार्ता समितिमा पर्शुराम खापुङ, नवराज सुवेदी, डम्बर खतिवडा र रामसहाय यादव सदस्य रहेका छन्।

विशेष