राजनीति

नेपाल र भियतनामबीच १६ बुँदे सहमति, कूटनीतिक र सरकारी राहदानीबाहकलाई भिसामा छुट

नेपाल र भियतनामबीच १६ बुँदे सहमति, कूटनीतिक र सरकारी राहदानीबाहकलाई भिसामा छुट

भियतनाम । प्रधानमन्त्री केपी शर्मा ओली र भियतनामका प्रधानमन्त्री न्गुएन जुवान फुकबीच हनोइस्थित प्रधानमन्त्रीको कार्यालयमा भेटवार्ता भएको छ। प्रधानमन्त्री ओली प्रिसिडेन्सियल हाउस पुग्दा भियतनामी प्रधानमन्त्रीले स्वागत गरेका थिए। भियतनामी सेनाको एक टुकडीले उनको सम्मानमा सम्मान गारत अर्पण गरेको थियो।

उनीहरुबीच समसामयिक राजनीतिक अवस्था तथा विकास र समृद्धिका विविध आयामबारे छलफल भएको थियो। द्विपक्षीय विषय र चासो तथा क्षेत्रीयस्तरका विषयमा पनि उनीहरुबीच छलफल भएको नेपाली प्रतिनिधिमण्डलका सदस्य थाइल्यान्डका लागि नेपाली राजदूत खगनाथ अधिकारीले जानकारी दिए।

आगामी वर्ष २०२० मा हुने 'नेपाल भ्रमण वर्ष'मा नेपालले बैसाख दिवस आयोजना गर्ने जानकारी दिँदै प्रधानमन्त्री ओलीले ‘लुम्बिनी परियोजना निर्माण गरौं’ भन्ने कार्यक्रममा हातेमालो गर्न भियतनामसँग आग्रह गरे। प्रधानमन्त्री ओलीले भियतनामी प्रधानमन्त्रीलाई अनुकूल समयमा नेपाल भ्रमणका लागि निम्तो पनि दिएका छन्।

दुई प्रधानमन्त्रीले कूटनीतिक र सरकारी राहदानीबाहकलाई प्रवेशाज्ञा छुट दिने सम्झौता, दुई सरकारबीचको द्विपक्षीय परामर्श संयन्त्र स्थापनासम्बन्धी समझदारीपत्र र व्यापार एवं लगानी ढाँचा सहमतिको आशयपत्रबारे पनि छलफल गरेका थिए।

सो अवसरमा भियतनामी प्रधानमन्त्री फुकले दुई देशबीच कृषि र पर्यटन क्षेत्रमा सहयोग वृद्धिबारे आफ्ना धारणा राखेका भियतनामी अधिकारीले जनाएका छन्। उनले आफू नेपालको समग्र विकासका लागि सहयोग गर्न इच्छुक भएको पनि बताए।

प्रधानमन्त्री ओलीका साथ नेपालका तर्फबाट परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र सल्लाहकार डा राजन भट्टराई, परराष्ट्र, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव तथा भियतनामी सरकारका तर्फबाट मन्त्री, उपमन्त्री र उच्चपदस्थ सरकारी अधिकारी सहभागी थिए।

सो भेटवार्तापछि नेपाल र भियतनाम द्विपक्षीय सम्बन्ध र व्यापार अभिवृद्धिलाई नयाँ उचाइमा पुर्‍याउन द्विपक्षीय सम्झौता भएको छ।

कूटनीतिक तथा सरकारी राहदानी बाहकलाई प्रवेशाज्ञा छुटसम्बन्धी सहमति र दुई सरकारबीच द्विपक्षीय परामर्श संयन्त्र निर्माण गर्ने विषयमा हस्ताक्षर भयो। सम्झौतामा नेपालका तर्फबाट परराष्ट्र सचिव शङ्करदास वैरागी र भियतनामका तर्फबाट त्यहाँका विदेश मामिला मन्त्रालयका प्रतिनिधि न्गुएन कोक दुङले हस्ताक्षर गरे।

त्यसैगरी व्यापार तथा लगानी ढाँचासम्बन्धी सम्झौताको आशयपत्रमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव केदारबहादुर अधिकारी र भियतनामका तर्फबाट त्यहाँको उद्योग मन्त्रालयका उपमन्त्री दाङ आओङ एनले हस्ताक्षर गरे।

सहिदप्रति प्रधानमन्त्रीको श्रद्धाञ्जलि

प्रधानमन्त्री केपी शर्मा ओलीले भियतनामका राष्ट्रिय वीरयोद्धा तथा सहिदहरुका स्मारकमा पुष्पहार चढाउँदै उनीहरुप्रति श्रद्धाञ्जलि व्यक्त गरे।

सो स्मारक भियतनामको मुक्ति र राष्ट्रिय सार्वभौमिकताका लागि ज्यान अर्पण गर्ने वीरयोद्धाहरुको स्मृतिमा निर्माण गरिएको हो। सो अवसरमा प्रधानमन्त्रीकी धर्मपत्नी राधिका शाक्य तथा नेपाली प्रतिनिधिमण्डलका सदस्यहरुको पनि उपस्थिति थियो।

राष्ट्रियसभा अध्यक्षसँग भेट

प्रधानमन्त्री ओली र भियतनामको राष्ट्रियसभाका अध्यक्ष न्गुऐन थि किम नागनबीच शनिबार नै संसद् भवनमा भेटघाट भएको छ। उनीहरुबीच समसामयीक राजनीतिक, सामाजिक, आर्थिक र दुबै देशको संसदीय मामिला विषयमा छलफल भएको थियो।

सो अवसरमा प्रधानमन्त्री ओलीले अध्यक्ष नागानलाई गौतमबुद्धको जन्मभूमी लुम्बिनी भ्रमणका लागि अनुरोध गरे।

होची मिन्ह हाउसको अवलोकन

प्रधानमन्त्री ओलीले शनिबार नै होची मिन्ह हाउसको अवलोकन गरे। सन् १९५८ देखि १९६९ सम्म भियतनामका पूर्व राष्ट्रपति तथा पूर्व प्रधानमन्त्री होची मिन्ह उक्त हाउसमा बसेका थिए।

प्रधानमन्त्री ओलीले भ्रमणका क्रममा नेता होको सयन, अध्ययन र बैठक कक्ष अवलोकन गरेका थिए। प्रधानमन्त्री ओलीले अतिथि पुस्तिकामा ‘कमरेड होची मिन्ह अमर रहुन्’ भनी उनको स्मरण गरेका थिए।

सो अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णुप्रसाद रिमाल, प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा राजन भट्टराई, परराष्ट्र सचिव शङ्करदास वैरागीलगायतको सहभागिता रहेको थियो। 

नेपाली समकक्षीलाई रात्रिभोज

भियतनामको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री ओली भियतनामका प्रधानमन्त्री न्गुऐन जुवान फुकले आयोजना गरेको रात्रिभोजमा सरिक भए।

सो अवसरमा प्रधानमन्त्रीकी धर्मपत्नी राधिका शाक्य पनि उपस्थित थिइन्। साथै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र सल्लाहकार डा राजन भट्टराई, सांसद र उच्चपदस्थ सरकारी कर्मचारीको पनि रात्रिभोजमा सहभागिता थियो।

प्रधानमन्त्री ओली बैसाख २६ गतेदेखि भियतनामको ४ दिने औपचारिक भ्रमणमा छन्।

नेपाल-भियतनाम

विशेष