केपी ओली, माधव नेपाल र झलनाथ खनाललाई मैले प्रधानमन्त्री बनाएँ: प्रचण्ड
काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले पार्टीका युवा संगठनहरुको एकीकरणको काम २ दिन भित्र टुंगो लगाइने घोषणा गरेका छन् ।
काठमाडौंको राष्ट्रिय सभागृहमा युवा संघको २९ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले जनवर्गीय संगठनहरुको एकीकरणको कामलाई पनि २ दिन भित्र सम्पन्न गर्न आफूले जोड दिएको पनि स्पष्ट पारे । उनले मदन भण्डारी स्मृति दिवसको अवसर पारेर जेठ ३ गते पार्टीका सबै जनवर्गीय संगठनहरुको एकीकरणको काम सम्पन्न हुने गरी भोली(विहिबार) बिहान पार्टीको सचिबालयको बैठक बोलाइएको पनि जानकारी दिए ।
अन्य संगठनहरुको एकीकरणको काममा केही ढिलाई हुन सक्ने अध्यक्ष दाहालको भनाई छ । अध्यक्ष दाहालले पार्टीका नेताहरु केपी ओली, माधव नेपाल र झलनाथ खनाललाई प्रधानमन्त्री बनाउन आफूले पहल गरेको स्मरण पनि गराए । उनले आफूले केही गर्न खोजेको उल्लेख गर्दै पार्टीका नेताहरुको साथ र सहयोगको अपेक्षा गरिएको पनि बताए । तर उनले के गर्न खोजेको हो भन्ने चाँही स्पष्ट पारेनन् ।
अध्यक्ष दाहालले जनता र राष्ट्रको चाहना र भावनाको जगमा दुई पार्टीबीच एकता भएको पनि स्पष्ट पारे ।