राजनीति

भीम रावल भन्छन्, ‘एकता ढिलाइले पार्टीलाई घाटा भयो’

भीम रावल भन्छन्, ‘एकता ढिलाइले पार्टीलाई घाटा भयो’

अछाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा सुदूरपश्चिम प्रदेश इञ्चार्ज भीमबहादुर रावलले पार्टीको स्थानीय कमिटी एकता ढिलाइले ठूलो घाटा भएको बताएका छन्  । मंगलबार गृहजिल्ला अछाममा अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता रावलले एकीकरणको काम लामो समयसम्म नटुङ्गिँदा तत्काल ठूलो असर नदेखिए पनि पार्टीको आन्तरिक जीवनमा ठूलो घाटा भएको बताएका हुन् । 

 

कार्यकर्ता भेलामा नेता रावलले आफू हिँडेको पाइला सम्झनैपर्ने भन्दै कम्युनिस्ट पार्टीको विगतदेखिका घोषणापत्र र चुनावी घोषणापत्र हेरेर अघि बढ्न कार्यकर्तालाई निर्देशन दिए । कम्युनिस्ट पार्टीको महानतालाई स्थापित गर्न नेकपाका कार्यकर्ता खरोरूपमा उत्रिनुपर्ने रावलको भनाई थियो । छ प्रदेश र सङ्घीय सरकारमा झन्डै दुईतिहाइको सरकार नेकपाका लागि कम्तीको अवसर नभएको रावलको भनाइ छ । नेकपाले नेतृत्व गरेका सबै तहका सरकारले जनताको सुख र समृद्धिका लागि तदअनुरुपका कार्यक्रम अगाडि सारिरहेको नेता रावलले बताए । 

 

राष्ट्रियताका सवालमा, नेपाल र नेपालीको स्वाभिमानका सन्दर्भमा सबै नेता कार्यकर्ता जिम्मेवार बन्न आग्रहसमेत गरे । आफूले राष्ट्रहित र राष्ट्रियताका विषयमा बोल्दा आम नेपाली जनताको साथ र सर्मथन पाएको भन्दै तथ्यविना आफूले कुनै पनि कुरा नगर्ने भएकाले राष्ट्रहितका सन्दर्भमा बोल्न नछाड्ने जिकिर गरे । कार्यकर्ता भेलामा पार्टीका प्रदेश कमिटी सदस्यले पनि समसामयिक मन्तव्य राखेका थिए । 

नेपाल कम्युनिष्ट पार्टी भीम रावल

विशेष