अन्तरघातीहरु बलशाली हुँदा पार्टीमा संकट - देउवा
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले निर्वाचनमा पार्टीलाई हराउनेहरु पार्टीभित्र बलशाली हुँदा पार्टी संकटमा फसेको बताउनुु भएको छ । पार्टीलाई चुनाव हराउनेहरु आफूविरुद्ध उभिएको दावी उहाँको छ ।
प्रजातान्त्रिक विचार समाजको ११ औं राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै सभापति देउवाले चुनावमा पार्टीलाई हराउने अन्तरघातीहरुलाई कार्वाही गर्न समेत आफूले पार्टीका नेताहरुबाट सहयोग नपाएको गुनासो गर्नुभयो ।
आफूलाई गाली गर्न छोडेर अर्को पटकको चुनावमा काँग्रेसलाई पहिलो पार्टी बनाउने काममा लाग्न कार्यकर्तालाई आव्हान गर्दै सभापति देउवाले भन्नुभयो– ‘दुई कम्युनिष्ट पार्टी मिल्दा भएको पराजयको आक्षेप मैले मात्र व्यहोर्नु कहाँसम्म न्यायोचित छ ? मलाई मात्र आरोप लगाएर नेताहरुले गैर प्रजातान्त्रिक गतिविधि गरिरहेका छन् ।’
मञ्चमा रहेका नेता कृष्णप्रसाद सिटौलालाई देखाउँदै सभापति देउवाले चुनावका बेला पुष्पकमल दाहाललाई मिलाउन वार्ताका लागि पठाएको तर सिटौला असफल भएको रहस्य खोल्नु भयो ।
काँग्रेस नेता कृष्णप्रसाद सिटौलाले पार्टीलाई आन्तरिक कलहबाट मुक्त गराउन सभापति देउवाको सक्रियता आवश्यक रहेको बताउनुभयो ।
पार्टीभित्र गुट स्वाभाविक भएपनि कलह हुन नहुने उहाँको भनाइ छ ।