राजनीति

पुरानै बाटोलाई निरन्तरता दिँदै विप्लव

पुरानै बाटोलाई निरन्तरता दिँदै विप्लव

काठमाडौं : राजधानीमा श्रृंखलाबद्ध बम विस्फोट गराएर त्रास फैलाएको नेत्रविक्रम चन्द विप्लव समुहको नेकपाप्रति नागरिकस्तरबाट विरोध सुरु भएको छ।पूर्वघोषित नेपाल बन्दको कार्यक्रम सफल बनाउन सोमवार विभिन्न स्थानमा बम र शकांस्पद वस्तु राखेर त्रास फैलाउने कामको विरोध सुरु भएको हो।

प्रतिबन्धित विप्लव समुहले सरकारलाई चुनौती दिन खोज्दा बम विस्फोट गर्ने क्रममा आफ्नै कार्यकर्ताले ज्यान गुमाए। सरकारले पटक–पटक वार्तामा बोलाउदा चुनौती दिँदै वार्ता अस्वीकार गर्ने विप्लव समुहले हिंसाकै बाटो रोजेको देखिन्छ। सरकारले विप्लव समूहमाथि कठोर नीति लिँदै नेता र कार्यकर्ता पक्राउ गर्ने कामलाई निरन्तरता दिएको छ।

दसबर्षे शसस्त्र द्वन्द्वले थिलथिलो भएको मुलुकमा संविधान जारी भएपछि समृद्धि र शान्तिको बाटोमा अगाडि बढिरहेको बेला विप्लव समुहले एकीकृत क्रान्तिको नारा अगाडि सार्दै विध्वसात्मक गतिविधि बढाएको छ। प्रतिबन्धपछि केही सामान्य बन्दै गएको परिस्थितलाई काठमाडौंमा भएको बम विस्फोटको घटनाले पुनः तरंगीत बनाइदिएको छ।

विगतमा दस वर्षे शसस्त्र द्वन्द्वमा एकसाथ सहभागी भएका नेकपा नेताहरुले विप्लवले नयाँ बाटो नरोजी पुरानै बाटोलाई निरन्तरता दिएकाले उनको नीति सफल हुन नसक्ने बताएका छन्। नेकपाका नेता राम कार्कीले विप्लवले गलत बाटो लिएको बताए। उनले भने, ‘विगतकै निरन्तरतामा विप्लवले क्रान्तिको सपना देखेका छन्, अहिलेको अवस्थामा विगतको बाटोले अगाडि बढने परिस्थिति छैन्।’

सरकारले जनपक्षिय काम गरेर विप्लवले अगाडि सारेको एजेण्डालाई स्वतः असफल बनाउन लाग्नुपर्ने बताउदै कामको प्राथमिकता निर्धारण गर्न नसकेको बताए। कार्कीले भने,‘सरकार अलमलमा परेजस्तै देखिएको छ, व्यवहारमा एकीकृत सोच र चिन्तन देखिएन।’ स्वास्थ्य शिक्षा, रोजगारीको क्षेत्रमा सरकारले काम गरेर देखाउने हो भने विप्लवको एजेण्डाले काम गर्दैन। यो खबर आजको नेपाल समाचार पत्रबाट लिइएको हो।

नेत्र विक्रम चन्द विप्लव

विशेष