डर र हिंसाको बाटोले सुख, शान्ति र दिगो रूपान्तरण ल्याउन सक्दैन : विवेकशील नेपाली
काठमाडौं : काठमाडौं लगायत देशका विभिन्न स्थानमा आइतबार भएका श्रृंखालाबद्ध बम विस्फोट घटनाको विवेकशील नेपाली दलले भर्त्सना गरेको छ।
मंगलबार एक विज्ञप्ति सार्वजनिक गर्दै डर र सिंसाको बाटोले सुख, शान्ति र दिगो रुपान्तरण ल्याउन नसक्ने बताउँदै विस्फोटबाट भएको मानवीय तथा अन्य क्षतिले चौतर्फी त्रास उत्पन्न भएको प्रति ध्यानाकर्षण भएको जनाएको छ। विवेकशील नेपालीले घाइतेहरूको उपचार एवं पीडितका परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न अनुरोध गर्दै विस्फोटको घटनामा संग्लनहरुको यथाशक्य छिटो पहिचान गरी कडा कानुनी कारबाही अघि बढाउन सरकारको ध्यानाकर्षण गराएको छ।
'बुद्धको देश भनेर चिनिने हाम्रो शान्ति भूमिमा कुनै पनि समस्याको समाधान डर- त्रास, हिंसा - प्रतिहिंसा हुनै सक्दैन भन्ने विवेकशील नेपालीको दृढ विश्वास रहको छ' विवेकशील नेपालीका प्रवक्ता मिलन पाण्डेद्वार जारी विज्ञप्तिमा भनिएको छ, 'यदि राजनीतिक उद्देश्य पूर्ति गर्ने बहानामा यी विवेकहीन गतिविधिहरू गरिएका भए हामी प्रस्टसँग आफ्नो भनाइ राख्न चाहन्छौँ- अशान्तिको बाटोले शान्ति तथा दिगो समाज रूपान्तरण आउँदैन। यो कुरा हाम्रो आफ्नै देशको अनुभव तथा विश्व राजनीतिको अध्ययनले पनि देखाउँछ। सरकारलाई पनि शान्तिपूर्ण असहमतिका आवाजहरूलाई वार्ता र संवादद्वारा जिम्मेवारीपूर्ण ढङ्गले सुनुवाइ गर्न अनुरोध गर्दछौँ। निषेध अनि प्रतिबन्धले समाधान दिँदैन।'
नियम कानुनको परिधिमा रही शान्तिसुरक्षाको प्रत्याभूति दिलाउने जिम्मेवारी सेवक सरकारको उल्लेख गर्दै विवेकशील नेपालीले विभिन्न निकायहरूको उपयुक्त परिचालनको अभावमा नै यी घटना भएकाले यस्ता घटनाहरू हुन नदिनको लागि चुस्त रूपमा त्यस्ता निकायहरूको परिचालन गर्न हामी ध्यानाकर्षण गराएको छ।
विवेकशील नेपाली दल