नेकपा नेता भुसाल भन्छन्, ‘देशको हालत हेरूँ भने छाती पिटी रोऊँजस्तो’

काठमाडौं । नेकपाका स्थायी समिति सदस्य घनश्याम भुसालले देशको पछिल्लो अवस्था दयनीय भएको भन्दै पार्टी नेतृत्वको तीखो आलोचना गरेका छन् । पार्टी र सरकारको नेतृत्वको कार्यशैलीप्रति असहमति राख्दै आएका भुसालले मुलुकको पछिल्लो हालत छाती पिटी रुनेजस्तो भएको टिप्पणी गरे । ‘हामी सांगठनिक हिसाबले अकल्पनीय स्थितिमा छौँ, गुटले पार्टीभित्र व्यक्तिहरूको हैसियत निर्धारण गर्छ, कम्युनिस्ट पार्टीको नाममा, लेनिनवादी संगठनात्मक पद्धतिको ब्यानरमा योभन्दा विरोधाभाष अरू के हुन्छ,’ भुसालले बिहीबार पत्रकार भेटघाट कार्यक्रममा बोल्दै भने, ‘देशको हालत भन्नुपर्दा सानैमा सुनेको प्रचण्ड बुढाथोकीको गीतजस्तो छ । गीतले भन्थ्यो– ‘हेर देशको हालत कस्तो छ, छाती पिटीपिटी चिच्याउनुजस्तो छ ।’ त्यो गीतले अहिले देशलाई ऐठन गरिरहेको अनुभूति गर्छु ।’
भुसाल नेतृत्वको कार्लमाक्र्स द्विशतवार्षिकी मूल समारोह समितिले मार्क्सको २ सय १औँ जन्मजयन्तीका अवसरमा २२ वैशाखमा प्रज्ञा भवन कमलादीमा विमर्श कार्यक्रमको आयोजना गर्दै छ । भुसाल समिति संयोजक छन् भने नेकपाका अर्का नेता राम कार्की सहसंयोजक छन् । भुसालले नेकपा गुटहरूको महासंघ वा काउन्सिलमा परिणत भएको निष्कर्ष सुनाए ।‘हामी सिद्धान्तमा लरखरिएका छौँ । हेटौँडा महाधिवेशनपछि माओवादीले च्याप्टर क्लोज गर्दियो, हामीले चाहिँ नवौँ महाधिवेशनले गरेको निर्णयमा एकपटक केन्द्रीय कमिटीमा छलफलसम्म गरेनाैँ, तल गएनौँ, नीतिले नेता चिनेन, नेताले नीति चिनेन,’ उनले भने, ‘सिद्धान्तको मूल जरो काटिदिएपछि अहिले बोनसाई झार भएको छ । याे समाचार नयाँ पत्रिका दैनिकबाट लिइएकाे हाे ।
घनश्याम भुसाल नेकपा