लाओसको संसद भवनमा अध्यक्ष ढकाल
काठमाडौं । क्षेत्रीय सहकार्यको आवश्यकताका सम्बन्धमा नेपाल परिवार दलका अध्यक्ष तथा पूर्वमन्त्री एकनाथ ढकालले लाओसका सांसदहरुसँग छलफल गरेका छन् ।
दुई दिने लाओस भ्रमणमा गएका अध्यक्ष ढकालले बिहीबार लाओसको संसद भवनमा आयोजित विशेष कार्यक्रममा सहभागी हुँदै दिगो शान्ति, विकास र पारस्परिक हितका खातिर क्षेत्रीय सहकार्यमा जोड दिए ।
ढकालले लाओस संसदका स्थायी समिति सदस्य तथा सामाजिक, साँस्कृतिक मामिलाका सभापति डा. सोम्फोउ दौंसावंहसँंग उनकै कार्यकक्षमा भेटवार्तासमेत गरे । भेटमा एसिया प्यासिफिक समिटमा लायोस संसद्को सक्रिय तथा गरिमामय सहभागिता रहेकोमा आभार ब्यक्त गरे । उनले नेपालका प्रधानमन्त्री केपी ओलीको ध्यान आर्थिक बिकासमा केन्द्रित रहेको जानकारी दिए ।
सभापति डा. सोम्फोउ दौंसावंहले एशिया प्यासिफिक सम्मेलनले लाओस र नेपालको मित्रता थप प्रगाढ बनाएको बताउदै क्षेत्रीय तथा अन्तर्राष्ट्रिय साझा चुनौतीहरुको समाधानमा समिटले महत्वपूर्ण योगदान गरेको उल्लेख गरे ।
सभापति सोम्फोउले ढकाल एशिया प्यासिफिकको अध्यक्ष रहेका इन्टरनेसनल एसोसिएसन अफ पार्लियामेन्टरियन फर पिसलाई लायोसमा कार्यक्रम गर्न आमन्त्रणसमेत गरेका थिए ।