जनताबाट निर्वाचित निकायहरुको विरोध गर्नु आवश्यक छैन: प्रधानमन्त्री ओली
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रम पेश गर्दा राष्ट्रपतिले प्रयोग गर्नुभएको शव्दको विरोध गर्नुको कुनै औचित्य नभएको बताएका छन् ।
सोमबार सिंहदरबारमा गृह हमन्त्रालयले आयोजना गरेको गणतन्त्र दिवस– २०७६ मूल समारोह समिति बैठकलाई सम्बोधन गर्दे उनले राज्यको सर्वोच्च अंगमा बसेको व्यक्तिले मेरो सरकार भन्नु स्वभाविक भएको बताए । उनले जनताबाट निर्वाचित निकायहरुको विरोध गर्नु आवश्यक नरहेको तर्क पनि गरे । गणतन्त्र भनेको लोकतन्त्रको वास्तविक स्वरुप भएको भन्दै यसको महशुस जनताले गरेको उनको भनाई छ ।
प्रधानमन्त्री ओलीले नेपालमा २००७ सालभन्दा अघि देखि नै गणतन्त्रका लागि संघर्ष भएको बताए । कुनै बेला राजा बन्न पनि गणतान्त्रिक अभ्यास हुने गरेको स्मरण गर्दै ओलीले पछिका शासकलाई जन्मसिद्ध श्रेष्ठताको सिद्धान्त ल्याएर गणतान्त्रिक मान्यता तोडेको प्रधानमन्त्री ओलीको भनाइ छ । प्रधानमन्त्री ओलीले गणतन्त्र दिवसका अवसरमा देशलाई अग्रगामी बाटो तर्फ लैजाने गरी बहस हुनु पर्ने बताए ।