राजनीति

बाबुराम किन गर्दैछन् फोरमसँग एकता?

बाबुराम किन गर्दैछन् फोरमसँग एकता?

काठमाडौं । आफू आबद्ध दललाई ‘रातो स्टिकर टाँसिएको घर’ भन्दै बाबुराम भट्टराईले ०७२ असोज ९ मा तत्कालिन माओवादी (केन्द्र) परित्याग गरेका थिए। उनले पार्टी परित्याग गर्दा भारतमा अरविन्द केजरीवालको उदय भएको थियो । परम्परागत राजनीतिक दलको विकल्पमा केजरिवालले नेतृत्व गरेको पार्टी दिल्लीमा एकैचोटी सरकार नै गठन गर्ने हैसियतमा पुग्यो।

 

केजरीवाल मुख्यमन्त्री भए । नेता भट्टराईमा त्यसैको गाढा प्रभाव पर्‍यो। आफ्नै पार्टीका अध्यक्ष पुष्पकमल दाहालको ‘संसदीय कम्युनिज्म’ र नेत्रवित्रम चन्दको ‘उग्रवादी कम्यूनिज्म’ दुवै दर्शन गलत भन्दै भट्टराईले पार्टी मात्रै छाडेनन्, समृद्धिको नारासहित आफ्नै नेतृत्वमा ०७३ जेठ ३० मा नयाँ शक्ति नेपाल पार्टी स्थापना गरे।
‘पुँजीवाद’ र ‘समाजवाद’ लाई संयोजन गरेर नयाँ विचारसहित नयाँ शक्तिलाई मुलुकको वैकल्पिक शक्ति बनाउने अठोट उनमा थियो। परम्परागत कम्युनिष्ट दर्शन छाडेर नयाँ पार्टीको नेतृत्व लिदै गर्दा भट्टराईले नेतृत्व गरेको पार्टीले केही समय ठूलै हलचल निम्त्याएको थियो। पुरानो (माओवादी केन्द्र) पार्टीमा रहेका दुई दर्जनबढी केन्द्रीय स्तरका नेताहरु उनलाई साथ दिन पार्टी परित्याग गरेर आईपुगेका थिए।

 

नागरिक समाजका केही अगुवा, पूर्व प्रशासक, पूर्व प्रहरी, लेखक कलाकारसमेत नयाँ शक्तिमा जोडिन आएका थिए। बाम र प्रजातान्त्रिक विचार राख्नेहरुको गठजोडबाट पार्टी निर्माण भएको थियो। पार्टीको नयाँ सिद्धान्तले आकार नलिँदै कम्यूनिष्ट र गैरकम्यूनिष्टबीचको अन्तरद्वन्द्व बढ्दै जान थाल्यो। त्यसपछि छाड्ने क्रम पनि सुरु भयो। पूर्व अर्थ सचिव रामेश्वर खनाल कांग्रेसबाट नयाँ शक्तिमा गएका थिए। उनले छाडे। बाम लेखक मुमाराम खनालले छाडे। भट्टराई प्रधानमन्त्री छँदा राजनीतिक सल्लाहकारको सुविधा भोग गरेका देवेन्द्र पौडेललाई समेत नयाँ शक्तिप्रति विश्वास जागेन।

 

स्थानीय तहमा भएको निर्वाचनमा जताततै पराजित भएपछि उनले पार्टी छाडे। उनीसँगै रामचन्द्र झा, खिमलाल देवकोटासहित दुई दर्जन बढी केन्द्रीय स्तरका नेताहरु तत्कालिन माआवादी केन्द्र (हाल नेकपा) मै फर्किए। अहिले भट्टराईका साथमा केन्द्रीय स्तरका नेताहरु पत्नी हिसिला यमी, गंगानारायण श्रेष्ठ, देवेन्द्र पराजुली, कल्पना धमला मात्रै छन्।

 

पढाईमा जस्तै नयाँ शक्ति पार्टीलाई अब्बल वैकल्पिक शक्तिको रुपमा उठाउने उनको सपना त पूरा भएन नै । क्रमशः उनको शक्ति कमजोर बन्दै गयो। राजनीतिक वृत्तमा उनको औचित्य र प्रभाव क्रमशः घटदै गयो। गएको संसदीय निर्वाचनमा गोरखा २ बाट कांग्रेससँगको सहकार्यमा उनले चुनाव त जिते, तर पार्टीको अवस्था बेहाल भयो। प्रतिनिधिसभामा उनी बाहेक कसैले पनि चुनाव जित्न सकेन। प्रदेशसभामा गोरखा र रसुवाबाट दुई जना निर्वाचित भए। तीमध्ये रसुवाका सांसद प्रेम तामाङ प्राविधिक रुपमा मात्रै नयाँ शक्तिमा छन्। उनी केही समयअघि कांग्रेस प्रवेश गर्ने कार्यक्रम थियो। दल बदल्दा सांसद पद जाने कानूनी व्यवस्थाका कारण उनी रोकिएका हुन्।

 

प्रतिनिधिसभामा ३ प्रतिशत थ्रेसहोल्ड छ। कुल सदर मतको ३ प्रतिशत अर्थात् २ लाख ८६ हजार ३ सय ४२ मत ल्याउन दलले मात्रै समानुपातिक सिट पाउँछन्। सँगै राष्ट्रिय पार्टीको रुपमा रहन्छन्। नयाँ शक्ति पार्टीले मुलुकभरबाट ८४ हजार ३७ मत अर्थात ०.८ प्रतिशत मत मात्रै प्राप्त गरेको थियो। राजनीतिमा आफ्नो प्रभाव कायम राख्न उनले ठूलो पार्टीमा आफ्नो पार्टी मर्जर गर्नुपर्ने बाध्यता नै बनिसकेको थियो। कांग्रेस र नेकपाभित्र आफ्नो प्रभाव सुरक्षित देखेनन्। त्यसैले उनी मधेसकेन्द्रित दलसँगै अन्य साना दलहरुलाई एकत्रित गरेर वैकल्पिक शक्ति बनाउने दोस्रो कोशिसमा छन्।

 

नयाँ शक्ति पार्टी र संघीय समाजवादी फोरमबीच सोमबार हुने एकतासँगै मधेसकेन्द्रित अर्को राजनीतिक शक्ति राष्ट्रिय जनता पार्टी (राजपा) सँग पनि एकता प्रयास जारी छ। श्रेष्ठ भन्छन्, ‘पुराना पार्टीबाट सम्बृद्धि सम्भव नहुने देखिसकियो, त्यसैले यी दुई पार्टीलाई विकल्प दिने नयाँ शक्ति निर्माण गरेरै छाड्छौँ।’ यो समाचार आजको कान्तिपुर दैनिकबाट लिइएको हो ।  

बाबुराम भट्टराई फोरम

विशेष