राजनीति

सरकारले पूरा हुने र गर्न सकिने सपना देखेको छ: प्रधानमन्त्री

सरकारले पूरा हुने र गर्न सकिने सपना देखेको छ: प्रधानमन्त्री

काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले पूरा हुने र गर्न सकिने खालको सपना देखेको बताएका छन् ।  प्रतिनिधिसभाको आजको बैठकमा सांसदले आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रममाथि उठाएका प्रश्नको जवाफ दिँदै उनले भने, “सरकारले जागै हुँदा देख्ने सपनाको कुरा गरेको हो । देश बनाउने अठोटको सपना देखेको हो ।” 

 

प्रधानमन्त्रीले राति देख्ने सपना नभई देश बनाउने र भविष्य बनाउने सपनाको कुरा वर्तमान सरकारले गरेको उल्लेख गरे । प्रधानमन्त्रीले भने, “एक वर्षका लागि के गर्न सकिन्छ, त्यसपछिका वर्षमा के गर्न सकिन्छ, कहाँ पुग्न सकिन्छ भन्ने सपना हो,  दिगो विकास लक्ष्य गर्ने सपना हो, संयुक्त राष्ट्र सङ्घले देखेको सपना हो, यो सपना राति देखेको सपना होइन । पूरा हुने सपना हो ।”

 

आगामी आवका लागि प्रस्तुत  नीति तथा कार्यक्रमले लोकतन्त्रलाई व्यापक अर्थमा अगाडि बढाउने स्पष्ट पार्दै उनले कार्यक्रमले  आगामी पाँच वर्ष, दश वर्ष र पच्चीस वर्षपछि कसरी जाने भन्ने स्पष्ट दृटिकोण राखेको बताए।

 

संविधानले सामाजिक न्याय र समानताको परिकल्पना गरेको र सोही परिकल्पना पूरा गर्न नीति कार्यक्रम ल्याइएको उनको भनाइ थियो ।  “सामाजिक रुपमा रहेको कमजोरी, पछौटेपन हटाउने काम गरिएको छ । त्यसका निम्ति अनेक प्रकारको साम्प्रदायिक क्षेत्रीय सङ्कीर्णता नभई व्यापक सामाजिक न्याय र समानतामा आधारित सामाजिक न्यायको जगमा  उठेको राष्ट्रिय एकता र  सबै मिलेर राष्ट्रलाई एक बनाउने विषयलाई नीति कार्यक्रमले लिएको  छ ”, उनले भने ।

 

राष्ट्र निर्माण र समृद्धिका लागि शिक्षा र स्वास्थ्यका क्षेत्रमा नीति कार्यक्रमले जोड दिएको बताउँदै उनले सुशासन र  भ्रष्टाचार नियन्त्रण विकासका निम्ति अपरिहार्य आवश्यकता रुपमा रहेको उल्लेख गर्दै  नीति कार्यक्रमका बारेमा अन्योलमा  पर्नुपर्ने अवस्था नरहेको स्पष्ट गरे । 

प्रधानमन्त्री केपी शर्मा ओली नीति तथा कार्यक्रम

विशेष