जनता सार्वभौमसत्ता सम्पन्न हुने प्रणाली हामीले ल्याएका हौँ: प्रधानमन्त्री ओली
काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीले जन्मसिद्ध श्रेष्ठताको विषय ग्राह्य र गरिमा हुने तर जनताद्वारा निर्वाचित संस्था निकायको मान्यता नहुने वा तिनको गरिमा नहुने प्रकारको मानसिकता त्याग्न आग्रह गरे ।
प्रतिनिधिसभाको आजको बैठकमा सांसदले आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रममाथि उठाएका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले भने, “जनतादारा निर्वाचित जनप्रतिनिधिमा जुन गरिमा छ, स्वघोषितमा त्यस्तो गरिमा हुँदैन, जननिर्वाचित प्रणाली हामीले लडेर ल्याएका हौँ, जनता सार्वभौमसत्ता सम्पन्न हुने प्रणाली हामीले ल्याएका हौँ ।"
राष्ट्रपतिले ‘मेरो सरकार’ भनेकोमा कुनै आश्चर्य नमान्न आग्रह गर्दै उनले राष्ट्र प्रमुखले त्यसो भन्नु अन्तरराष्ट्रिय अभ्यास भएको प्रष्ट्याए । प्रतिपक्षी दलका नेताले नीति कार्यक्रमको छलफलमा ‘बेलायती महारानीको जस्तो’ भन्दै राष्ट्रपतिमाथि गरेको टिप्पणी कूटनीतिक रुपमा समेत राम्रो नभएको उल्लेख गर्दै उनले यसले नेपालको विकास साझेदार मुलुकको भावनामा चोट पुर्याएको बताए ।
राष्ट्रपति जस्तो संस्थालाई विवादमा ल्याउन नहुनेमा जोड दिँदै प्रधानमन्त्रीले भने , “ राष्ट्रपति राज्य व्यवस्थाको सर्वोच्च सम्मानित संस्था हो, त्यो संस्था साझा हुन्छ, कुन पार्टीले सरकारले नेतृत्व गरेको छ भन्ने फरक विषय हो, राष्ट्रपतिले ‘मेरो सरकार’ भन्नु कुनै भुल होइन । राष्ट्रप्रमुखले आफूमातहतका सरकारलाई मेरो सरकार भन्नुमा अलमलिनु हुँदैन ।” वर्तमान सरकारलाई प्रतिपक्षले पनि आफ्नै सरकार भने हुने प्रधानमन्त्रीको भनाइ थियो ।