राजनीति

कोही पनि नेपाली पछाडि पर्नुहुँदैन

कोही पनि नेपाली पछाडि पर्नुहुँदैन

काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीले कम्युनिष्ट सिद्धान्तलाई गरीबीको वितरण हो भनेर भन्ने गरिए पनि त्यस्तो प्रचार गर्नेहरु कमजोर भएको बताउँदै उनले समृद्धि र आर्थिक विकासको मार्गमा समेत देशलाई अगाडि बढाउने सङ्कल्प लिएको स्पष्ट पारेका छन् ।  

 

प्रतिनिधिसभाको आजको बैठकमा सांसदले आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रममाथि उठाएका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले भने,“कोही पनि नेपाली पछाडि पर्नुहुँदैन, सबै पक्ष, सबै ठाउँमा पुगेको पूर्ण लोकतन्त्र भन्दा चित्त दुखाउनुपर्ने ठाउँ छैन । सबैका लागि लोकतन्त्र भन्दा तानाशाहीकरण गर्न खोजेको भनेर शङ्का नगर्न आग्रह गर्दछु ।”

 

अतिकम विकसित मुलुकको स्तरबाट मुक्त हुने र मध्यमस्तरको आय भएको मुलुकका रुपमा अघि बढ्ने, दीर्घकालीन योजना र  दिगो विकास लक्ष्य हासिल गरेर अघि बढ्ने तथा यो शताब्दीको अन्त्यसम्म गर्नुपर्ने कामका सम्बन्धमा निश्चित लक्ष्य लिएर सरकार अघि बढ्न खोजेको उनको भनाइ थियो ।

 

बढ्दो व्यापार घाटा न्यूनीकरण गर्न सरकार सजग रहेको प्रष्टोक्ति दिँदै उनले आयात प्रतिस्थापन गर्न उत्पादन वृद्धिमा ध्यान दिइएको बताउनुभयो । लगानी गर्दा उत्पादन र रोजगारी वृद्धि, आयात प्रतिस्थापन र  निर्यात प्रवद्र्धन गर्न नीति कार्यक्रमले दिशानिर्देश गरेको प्रधानमन्त्रीको कथन थियो । निर्माण सामग्री खरीद गर्दा केही व्यापार घाटा बढेको देखिएको भए पनि त्यो भयावहस्थिति नभएको उनले स्पष्ट पारे ।

 

सरकारले शान्ति सुव्यवस्था कायम गर्न प्रभावकारी काम गरेको, पृथकतावाद अन्त्य गरेको,  सामाजिक सुरक्षा, रोजगारीका अवसर सिर्जना र थुप्रै युगान्तकारी कार्यक्रम समेत शुरु भएको प्रधानमन्त्रीको भनाइ थियो ।

विशेष