सरकार सार्वजनिक सम्पत्तिको संरक्षण गर्न दत्तचित्त भएर लागेको छ: प्रधानमन्त्री
काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले सार्वजनिक सम्पत्तिको रक्षा गर्ने बताएका छन् ।
सरकार सार्वजनिक सम्पत्तिको संरक्षण गर्न दत्तचित्त भएर लागेको उनको भनाई छ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदले आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रममाथि उठाएका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले भने, “यो सरकार बनेपछि खुलामञ्च मासेको हो र ? खुलामञ्च त अगाडि नै मासिएको थियो, अहिले खुलामञ्चलाई फिर्ता ल्याइएको छ । बालुवाटारको जग्गा अहिले मासिएको हो र ? भएको जग्गा खोजिएको छ, वाइडबडी तथा विभिन्न घोटालाको पनि हाल छानबीन भइरहेको छ ।”
प्रधानमन्त्रीले सुन तस्करीको सञ्जाल नष्ट गर्दै त्यसमा संलग्नलाई नियन्त्रणमा लिइएपछि सुन तस्करी बन्द भएको बताए । उनले भने, “सरकारले सुन तस्करीको प्वाल टाल्यो, तस्करीमा संलग्न समातिएर जेलमा छन् ।” अनुपयोगी ढङ्गले रहेको सार्वजनिक जमीनको सदुपयोग गर्न सरकार अघि बढेको प्रष्टोक्ति दिँदै प्रधानमन्त्रीले आवश्यकतानुसार सार्वजनिक सम्पत्तिको सदुपयोग गर्न लागिएको बताए ।