राजनीति

प्रधानमन्त्रीले लण्डन पुगेर भने : सरकारको नेतृत्व परिवर्तनबारे पार्टीले निर्णय गर्छ

प्रधानमन्त्रीले लण्डन पुगेर भने : सरकारको नेतृत्व परिवर्तनबारे पार्टीले निर्णय गर्छ

लण्डन : साताव्यापी युरोपको भ्रमणमा रहेका प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष  केपी शर्मा ओलीले सरकारको नेतृत्व परिवर्तनबारे आफ्नो दलले निर्णय गर्ने बताएका छन् ।

दुई दलका शीर्ष नेताबीच भएको सहमतिअनुसार आलोपालो नेतृत्व गर्ने नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले स्मरण गराइरहेका बेला प्रधानमन्त्रीको यस्तो धारणा बाहिरिएको हो।

सोमबार बेलुका ब्रिटेनको प्रतिष्ठित अक्स्फोर्ड विश्वविद्यालयस्थित विद्यार्थी युनियनले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। उक्त कार्यक्रममा उनले आफ्नो दलभित्रको राजनीतिबारे पनि टिप्पणी गरेका थिए ।

'के तपाईँ अढाई वर्षपछि सरकार छोड्नुहुन्छ?' भन्ने प्रश्नको उत्तरमा प्रधानमन्त्री ओलीले दुई वामपन्थी दलहरू एकीकरण गर्दा भएका सहमतिबारे अब सत्तारूढ दलले निर्णय गरेअनुसार हुने बताएको बिबिसीले जनाएको छ।

अक्स्फोर्डमा 'शान्ति, लोकतन्त्र र विकास' विषयमा प्रवचन दिँदै प्रधानमन्त्री ओलीले राजतन्त्रदेखि संघीय लोकतान्त्रिक गणतन्त्रसम्म नेपालको यात्राको चर्चा गरेका थिए। उनले आर्थिक विकास गरी जनताको जीवनमा परिवर्तन नल्याएसम्म राजनीतिक परिवर्तन दीर्घकालीन हुन नसक्नेमा पनि जोड दिए।

यसअघि सोमवार नै ओलीले स्विट्जरल्यान्डको जिनेभामा अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) स्थापनाको सय वर्ष पुगेको अवसरमा आयोजित विशेष समारोहलाई सम्बोधन गरेका थिए।

एमाले र माओवादीबीच एकीकरण भएर बनेको नेकपामा ओली र प्रचण्ड दुवै जना अध्यक्ष छन्। उनीहरूले आफूहरू एउटै विमानको सहचालक भएको बताउने गरेका छन्।

केपी शर्मा ओली

विशेष