अन्तरवार्ता भिडियो

नाम कम्युनिष्ट, काम कमिशन र लुट (भिडियोसहित)

नाम कम्युनिष्ट, काम कमिशन र लुट (भिडियोसहित)

लोकसेवा आयोगले स्थानीय तहमा कर्मचारी पूर्तिका लागि गरेको विज्ञापन राज्य व्यवस्था समितिले रद्द गर्न निर्देशन दिएपछि अन्योल छाएको छ । समितिमै नेकपाका सांसद् विभाजित भए । सरकार र संसदीय समितिबीच  द्वन्द्व चर्किने देखियो । लोकसेवा आयोग नै नरहने हो कि भन्ने प्रश्न पनि खडा भएको छ । 


लोकसेवा आयोगको विज्ञापन समावेशी र समानुपातिक नभएको एउटा तर्क छ । सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितका अनुसार यो बिल्कुल संविधानसम्मत छ । जुन स्थानीय निकायमा आवश्यकता पर्यो, त्यहीं विज्ञापन मागियो, जहाँ मागिएन त्यहाँ खोलिएन । तर, बहस यतिमा मात्र सीमित छैन । 


जसरी राज्य व्यवस्था समितिले स्थानीय तहमा कर्मचारी भर्ना गर्न निर्देशन दिएको छ, अब के सोही बमोजिम होला त ? 


नेपाली कांग्रेसको भ्रातृ संगठन तरुण दलका महामन्त्री भुपेन्द्रजंग शाही बामपन्थी सरकारले लोकसेवा नै बिघटन गरेर कार्यकर्ता भर्ती गर्दै मुलुक कब्जा गर्ने दाउमा लागेको शंका व्यक्त गर्छन् । 


उनी भन्छन्, ‘लोकसेवा आयोग जस्तो संस्थालाई यो सरकारले  विवादित बनायो । यसबाटै थाहा हुन्छ, यो कति नालायक छ । अब स्थानीय तहमा कार्यकर्ता भर्ती गर्ने रे ! हामी हातमा दही जमाएर बसेका छैनौ । ठाडै प्रतिवाद गर्छौ । तरुण दल जिउँदै छ । ’


‘यो सरकार अधिनायकवाद लाद्न चाहन्छ भन्ने कुरा देशभर भैरहेका आन्दोलनबाट पुष्टि भैसकेको छ । गुठी सम्बन्धी विधेयकको विरोध छ, मिडिया काउन्सिल सम्बन्धी विधेयकको विरोध छ, सुरक्षा सम्बन्धी विधेयक विवादमा छ, मानवअधिकार सम्बन्धी विधेयक विवादित छ । देशभर ठाउँ ठाउँमा दैनिक विरोध प्रदर्शन भैरहेका छन् । आखिर सरकार किन विवादित काम मात्र गरिरहेको छ त ? किनभने यो सरकार जनताको आवाज सुन्दैन । जनताको हित गर्छु भनेर सरकार बनेको पनि होइन । यसको एउटै उद्देश्य आफना नेता र कार्यकर्ता पोस्ने मात्र हो । देश र जनताको माया छैन ।’ महामन्त्री शाहीले भने । 

                                                    प्रधानमन्त्री भ्रष्टाचारीको ‘कमाण्डर

’मुलुकमा भ्रष्टाचार नियन्त्रण गर्नुको सट्टा प्रधानमन्त्री केपी शर्मा ओली आफै भ्रष्टाचारको ‘कमाण्डर’ बनेका छन् । उनी भ्रष्टाचारको संरक्षक बनेका छन् । वाइडबडी, एनसेल, फोर जी, मेलम्ची, बालुवाटार जग्गा, अहिले सेटलाइटको कुरा आएको छ । भ्रष्टाचारको नायिकेले समृद्धि ल्याउँछु भन्नु हास्यास्पद हो । 
अहिले स्थानीय तह र प्रदेशमा भ्रष्टाचार झन ब्यापक भएको छ । गाउँगाउँमा सिंहदरवार भनेको त गाउँगाउँमा भ्रष्टाचार पुगेको छ । प्रधानमन्त्री केपी ओलीको सरकार यसलाई नियन्त्रण गर्नतर्फ होइन, झन प्रोत्साहित गर्न सक्रिय छ । 


यो सरकार भ्रष्टाचाकै कारण बदनाम भैसक्यो । नाम कम्युनिष्ट, काम भ्रष्टाचार । यही हो उनीहरुको समाजवाद ? भ्रष्टाचारी सरकारको दिनगन्ती सुरु भैसकेको छ । यो आफै सकिएर जान्छ । 

                                                                     कांग्रेस उत्साहित

धेरै मानिसले सोचेका हुनसक्छन् कांग्रेस कमजोर छ । केही हदसम्म त्यो सत्य हो । तर, यसपटक देशभर गरिएको जागरण अभियानले पार्टीमा ठूलो जागरण आएको छ । यसले कार्यकर्ता र जनतालाई पनि उत्साही तुल्याएको छ । 


हामीले यो सरकारको भण्डाफोर गर्नुका साथै पार्टीका नीति, सिद्धान्त र रणनीतिबारे गाउँगाउँमा गएर कुरा राख्यौं । काठमाडौंमा मात्र सीमित हुने आफना नेतालाई गाउँगाउँमा भेट्दा जनता खुशी नहुने कुरै भएन । 


म आफैं पूर्वको भोजपुरदेखि सुदूरपश्चिमको बाजुरासम्म पुगें । जनता यो सरकारप्रति दिक्क भएका छन् । मुख्यतः बढ्दो भ्रष्टाचारका कारण सर्वसाधारण कम्युनिष्ट सरकारसंग रुष्ट भएको पाइयो । उनीहरुले कांग्रेसलाई गुटउपगुट नभइ मिलेर जान सुझाव दिएका छन् । हामीले अझै पार्टी संरचना र केही नीतिगत कुरामा सुधार गर्यौं भने कांग्रेस एक नम्बर पार्टी बन्ने र यसले मुलुकलाई नै फाइदा हुनेमा म ढुक्क छु ।

 
                                                               

                                                                        म टुलुटुलु हेरेर बस्दिन

म पार्टी सभापति शेरबहादुर देउवा र आफनै तरुण दलका सभापति जीतजंग बस्नेतलाई आग्रह गर्छु, ‘तरुण दल विस्तार गरौं । जम्मा ४ जनाको कार्यसमिति छ । तरुण दल, नेविसंघ जस्ता भ्रातृ संस्थालाई लथालिंग पारेर ओली र प्रचण्डको पार्टीसंग लड्न सकिन्छ ?’


‘यो कुरालाई सभापति देउवाले गम्भीरतापूर्वक लिनुपर्छ । म बस्नेतज्यूलाई पनि त्यही भन्छु । तर, होइन यत्तिकै चल्ने हो भने म चाहिं सक्दिन । म टुलुटुलु हेरेर बस्न सक्दिन । म सक्रिय हुन चाहन्छु । ’ शाहीले भने । 

विशेष