गुठी विधेयकमा राप्रपा संयुक्तको पनि आपत्ति
काठमाडौँ । गुठी सम्बन्धी कानुनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयक,२०७५ माथि राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)ले पनि आपत्ति जनाएको छ । सरकारले संघीय संसद अन्तर्गतको राष्ट्रिय सभामा पेश गरेको गुठी विधेयक तत्काल फिर्ता लिन राप्रपाले सरकारलाई चेतावनी दिएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)का अध्यक्षद्धय पशुपति शमशेर राणा र डा. प्रकाशचन्द्र लोहनीले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी मुलुकको धार्मिक, सांस्कृतिक पक्षलाई समाप्त पार्नेगरी विधेयक ल्याइएको भन्दै विधेयक तत्काल फिर्ता लिन सरकारलाई दवाव दिनुभयो ।
संसदमा प्रस्तुत उक्त विद्येयकले नेपालको परम्परागत सहकार्य र समन्वयमा अडेको धार्मिक र सांस्कृतिक संरचना भत्काउने दाबी अध्यक्षद्धय राणा र लोहनीले गरे । ‘हिन्दु तथा बौद्ध धर्मलाई नै नष्ट गर्ने गरी आएको यो विधेयकको विरोधमा जनता छन् । उनीहरुलाई परिचालन गरेर सरकारलाई विधेयक फिर्ता लिन बाध्य बनाउछौँ । ’अध्यक्ष राणाले बताउनुभयो ।
परम्परागत गुठी संरचनामा निहित र सामूहिकताको संस्कार मासेर गुठीको सम्पत्तिको नाङ्गो तरिकाबाट व्यवसायीकरण गर्ने र गुठीमा हजुरीया पुँजीवादलाई प्रोत्साहन गर्ने सरकारी लक्ष्य रहेको उहाँको आशंका छ । अध्यक्ष जबराले आफूहरु हिन्दूराष्ट्र पूर्नस्थापनाको लागि पनि सडकमा उत्रिने भन्दै हिन्दूराष्ट्र स्थापनाको लागि कांग्रेसलाई पनि सडकमा आउन आग्रह गर्नुभयो ।
पत्रकार सम्मेलनमा पार्टीका अर्का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले विधेयकले अक्षयकोष खडा गर्ने नाममा गुठीका जग्गा व्यक्तिकरण गरी सरकारी मूल्यांकनको २५ प्रतिशत लिएर विक्रि गर्न पाउनेगरि हजारौं रोपनीरविगाह जमिनलाई कौडीको भाउमा बेच्ने नियत राखेको आरोप लगाउनुभयो ।
सरोकारवाला निकायसँग छलफल गरेर उनीहरुले दिएको सुझावको आधारमा विधेयकलाई पुनः तर्जुमा गर्न पनि उहाँले सरकारको गम्भीर ध्यानाकर्षण गराउनु भयो । सरकारले भू माफियाको मिलेमतोमा ल्याएको योे विधेयक आफ्नो पार्टीलाई स्वीकार्य नहुने उहाँको भनाइ छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)ले सो विधेयक तत्काल फिर्ता नलिए प्रमुख प्रतिपक्ष नेपाली काँग्रेससँग मिलेर सरकारविरुद्ध आन्दोलन गर्ने पनि स्पष्ट पारेको छ ।