राजनीति

मन्त्री महासेठलाई सभापति खड्काको प्रश्न : तीनकुने डुब्नुमा दोषी को ?

मन्त्री महासेठलाई सभापति खड्काको प्रश्न : तीनकुने डुब्नुमा दोषी को ?

काठमाडौं । संसद्को विकास समिति बैठक सञ्चालन गरिरहेकी सभापति कल्याणी खड्काले मन्त्री रघुवीर महासेठ, सचिव देवेन्द्र कार्की र कर्मचारीमाथि प्रश्नको वर्षा गरिन् । ‘राजधानीको तीनकुनेमा सधैं पानी जम्छ । गाडीको इन्जिनै बिग्रने गरी डुब्छ । घन्टौं जाम हुन्छ । त्यसमा जिम्मेवार को हो ?’ उनले प्रश्न गरिन् ।

‘पटक–पटक किन यस्तो हुन्छ, मन्त्रालयले जवाफ दिनुपर्‍यो,’ उनले थपिन् । मन्त्री महासेठ र सचिव कार्कीलाई इंगित गर्दै भनिन्, ‘सकिँदैन भने राजधानीका खाल्डाखुल्डी पुर्ने र धूलो हटाउने कुरा नगरौं, परिणाम देखिँदैन भने कुरा गरेर मात्र हुँदैन,’ उनले भनिन् ।

‘मेलम्चीका विषयमा पानी आउँदैन भने नबोल्नुस् भन्यौं तर परिणाम देखिएन,’ उनले भनिन्, ‘गौरवको आयोजना निर्माणक्रममा जनतालाई प्रत्यक्ष फाइदा पुग्ने काम गर्न मन्त्रालयले ध्यान दिनुपर्‍यो ।’

मध्यपहाडी र हुलाकी राजमार्गको चौडाइ कति राख्ने भन्ने विषयमा सरकारले विचार गर्न सक्ने कि नसक्ने भन्दै मन्त्रीलाई र्‍याखर्‍याख्ती पारेकी थिइन् । मन्त्री महासेठले अहिले आफूले केही भन्न नसक्ने बताए । उनको जवाफ चित्त नबुझेपछि सभापति खड्काले फेरि भनिन्, ‘जनताको समस्या छ ।’

जनताको कामको कागज कुन टेबुलमा कति दिन रहन्छ त्यो प्रस्ट हुनुपर्‍यो । मन्त्री महासेठले यो विषय मन्त्रिपरिषद्को विधेयक समितिमा पनि छलफल भइरहेको बताए ।

‘सबैले कमजोरी गरेको भन्दिनँ तर निर्माण व्यवसायी मात्र होइन, सरकारी निकायले बढी जिम्मेवारी लिनुपर्छ । सरोकारवाला निकायलाई बाहिर राखेर नियम कानुन ल्याउनु हुँदैन,’ खड्काले भनिन् । यो खबर आजको कान्तिपुर दैनिकबाट लिइएको हो ।

कल्याणी खड्का मन्त्री रघुवीर महासेठ

विशेष