कृषिमन्त्री खनालमाथि निगरानी, यातायातमन्त्री महासेठ पनि तानिने
काठमाडौं । राष्ट्रियसभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणि खनाललाई सचेत गराएको छ भने भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठलाई अर्को बैठकमा बोलाउने निर्णय गरेको छ ।
बिहीबार सिंहदरबारमा बसेको समितिको बैठकले मन्त्री खनाललाई समेत बोलाएर कानुनविपरीत प्रत्यायोजित व्यवस्थापनको काम नगर्न सचेत गराएको हो ।
यस्तै, उक्त बैठकले भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठसँग राष्ट्रिय गौरवका आयोजनाहरुको प्रगतिबारे बुझ्न अर्को बैठकमा बोलाउने निर्णय समेत गरेको छ ।
समितिले विभिन्न मन्त्रालयले कानुन विपरित निर्देशिका जारी गरेर भ्रष्टाचार गरेको उल्लेख गर्दै ती निर्देशिका बदर गराउने र सरकारलाई संसदप्रति जवाफदेही बनाउने योजना अघि सारेको बताइएको छ ।
समितिका सभापति रामनारायण बिडारीले कानुनविपरित नियमावली, निर्देशिका, मापदण्ड, कार्यविधि बनाएको पाइएपछि उक्त मन्त्रालयलाई त्यस्ता गतिविधि नगर्न सचेत गराइएको जानकारी दिए ।
उनले कानुन विपरितका प्रत्यायोजित व्यवस्थापन गरेर विभिन्न मन्त्रालयले भ्रष्टाचार गरेको पाइएको उल्लेख गर्दै ती निर्देशिका बदर गराउने गरी राष्ट्रिय सभामा प्रस्ताव लैजाने तयारी गरिएको बताए ।
स्मरणीय छ, उक्त समितिलाई सरकारबाट भए गरेका काम कारवाहीको अनुगमन र मूल्यांकन गरी आवश्यक निर्देशन वा रायसुझाव दिन अधिकार छ । यो खबर आजको नेपाल समाचारपत्र दैनिकबाट लिइएको हो।
चक्रपाणि खनाल रघुवीर महासेठ