तपाईं कस्तो बोल्नुहुन्छ ? आफैं जाँच्नुस्
नौनीजस्तो नरम स्वभाव र नम्र बोलीबचन भएका मानिस सबैका प्रिय हुन्छन् । त्यो नरमपनाभित्र प्रज्ञा र चेत मिसियो भने सुनमा सुगन्ध भइहाल्यो । यस्ता स्वभाव भएका मानिसलाई समाजले हौस्याउँदै भन्ने गर्छ– कस्तो आँखामा हाल्दा पनि नबिझाउने मानिस । साधारणतया हामीहरु सम्झने गर्छौं– बोल्नुको अर्थ आफ्ना कुरा भनेर अर्कालाई प्रभावित पार्नु अथवा आफ्ना कुरा दोस्रोसम्म पुर्याएर अर्काबाट काम लिनु, वशमा पार्नु । तर यो नै अन्तिम गन्तव्य होइन । वास्तवमा वार्तालाप भन्ने कुरा दिने लिने प्रक्रिया हो । प्रायः हामीहरु आफूले बोलेको बेला केही दिइरहेको, प्रभाव पारिरहेको वा सिकाएको झैं ठान्ने गर्छौं । तपाईं वक्ता रहेको बेला अर्थात अर्कोसंग कुराकानी गर्दा कस्तो व्यवहार गर्नुहुन्छ ? एकपटक आफूलाई कसी लगाएर हेर्नुस् ।
१. के तपाईं आफ्ना कुरा अरुलाई सुनाउन पाउँदा जति खुशी मान्नुहुन्छ, अरुका कुरा सुनिरहेका बेला पनि त्यतिकै आनन्द लिन सक्नुहुन्छ ?
२. अरुले गरेका कुरा ध्यानसंग सुन्ने गर्नुहुन्छ ?
३. के अर्कोले बोल्दै गरेको कुरा पूरा हुन नदिई बीचैमा काट्ने त गर्नुहुन्न ?
४. बोल्ने ढंगबारे आफैंले आफैंलाई जाँच्ने त गर्नुभएको छ ?
५. तपाईंले कहिलेकाहीँ आफ्ना विश्वस्त मित्र वा हितैषीसंग आफ्नो बोलीचाली बारे आन्तरिक प्रतिक्रिया लिने गर्नुभएको छ ?
६. आफ्नो बोली रेकर्ड गरेर आफैंले पुनः सुनेर त्यसमा भएका कमजोरी जाँच्ने गर्नुभएको छ ?
७. तपाईं सन्तुलित ढंगले व्याकरण उच्चारण शैलीजस्ता कुरा मिलाएर बोल्ने गर्नुुहुन्छ ?
८. बोल्दा हरेक कुरामा किरिया खाने त गर्नुहुन्न ?
९. तपाईं अश्लिल र अशिष्ट भाषा प्रयोग गर्ने बानीबाट ग्रस्त त हुनुहुन्न ?
१०. के तपाईं आफ्नो भनाई स्पष्ट र छोटकरी सिध्याउने गर्नुहुन्छ ?११. के तपाईं आफूले बोल्न थालेका विषय क्रमबद्ध ढंगले सिध्याउनुहुन्छ ?
१२. एउटा विषय बोल्दै गर्दा अर्कै विषय बाहिरको प्रसंग जोडेर वास्तविक कुरा नटुंग्याउने बानी त छैन ?
१३. के तपाईं समय र परिस्थितिअनुसारका कुरा गर्दै हुनुहुन्छ ?
१४. कतै तपाईं पुराना, थोत्रा अथवा प्रसंग बाहिरका फुँदा जोडेर स्रोताको समय नष्ट त पार्दै हुनुहुन्न ?
१५. के तपाईंले आफ्ना भनाई आकर्षक बनाउन कुनै मनोरञ्जक विषय जोडेर बोल्ने गर्नुभएको छ ।
१६. के तपाईं कुनै नयाँ व्यक्तिसंग भेट्न जाँदा के बोल्ने अथवा उसले के भन्ला कस्तो जवाफ दिने हो भनेर पहिलेदेखि नै सोच्ने गर्नुहुन्छ ?
१७. कतै तपाईं प्रत्येक व्यक्तिसंगको बोलीचालीमा एउटै खाले सोचाई र धारणा त राख्ने गर्नुहुन्न ?
१८. ठीक छ, तपाईं सबैसंग समान व्यवहार राख्न चाहनु हुन्छ अथवा भनौं आफूप्रति आकर्षित गर्न चाहनुहुन्छ र तपाईंलाई लाग्छ, मैले प्रभाव पार्दैछु– के त्यसबेला उसको भाव भंगिमा र अनुहारमा देखिने परिवर्तनको अध्ययन गर्ने गर्नुहुन्छ ?
१९. के तपाईं सम्बन्धित व्यक्तिसंग आफ्ना कुरा राख्नुअघि नै अन्यत्र कतैबाट उसबारे परिचित भइसक्नु भएको छ ?
२०. तपाईं अरुको निन्दा, अपमान गर्ने बानीबाट पीडित त हुनुहुन्न ?
२१. आफूले बोलेका कुराले अर्कोलाई चोट लाग्ने गर्छ कि भनेर कहिलेकाहीँ पछि फर्किएर सोच्ने गर्नुहुन्छ ?
२२. तपाईं अर्काको हाँसो उडाउँदा बडो खुसी भएर झन्झन् हौसिएर नभएका कुरा बोल्ने त गर्नुहुन्न ?
२३. के तपाईं कहिलेकाहीँ बोल्दा बोल्दै टक्क रोकिएर कसैलाई चोट लाग्ने कुरा बोलें कि भनेर सोच्ने गर्नुहुन्छ ?
२४. कतै तपाईं कुनै विवादास्पद अथवा अरुको गोपनीय विषय त खोल्दै हुनुहुन्न ?
२५. थाहै नपाई आफ्नो आन्तरिक कुरा त उकेल्ने गर्नुभएको छैन ?
२६. बोल्दाबोल्दै स्रोताले थाहै नपाई विषयान्तर पो गर्नुहुन्छ कि ?
२७. के तपाईं अरुलाई आफूसंग बोल्न उत्साहित पार्न सक्नुहुन्छ ?
२८. आफूप्रति जति भरोसा छ अरुप्रति त्यतिक्कै भरोसा राख्न सक्नुहुन्छ ?
२९. कतै तपाईं म जति ठूलो कोही छैन, त्यसकारण मैले बोलेको सबै कुरा सही हुन्छ भनेर फुल्ने रोगको शिकार त हुनुहुन्न ?
३०. तपाईं आफूले भाषण गर्दा समयको ख्याल गर्ने गर्नुहुन्छ ?
३१. आफूले बोलेका बेला स्रोतालाई मूर्ख त ठान्नुहुन्न ?
एक घण्टा लामो प्रवचन दिएर अन्त्यमा ‘मेरो दुई शब्द यहीं टुंग्याउँछु’ भनेर स्रोताबाट उपहासको पात्र त बन्नु भएको छैन ?
३२. आफू पनि स्रोता भएर बस्नु पर्छ भन्ने मनमा सोचेर बोल्ने बानी गर्नुभएको छ ?
३३. बोल्दा धेरै हाँस्ने गरेर बोलेको कुरै अरुले नबुझ्ने गरेको भए त्यसबारे ध्यान दिनुभएको छ ?
३४. बोल्दा आवश्यकता बढी वा नमिल्दो गरी थेगो (जस्तै चैं, चैने जो, क्यारे, क्यानाम, तपाईंको के भने, बुझ्नु भो आदि) जोडेर कथ्य प्रसंगलाई अनौठो पार्ने बानी त छैन ? बोल्दा अनावश्यक ढंगले सोच्ने, अँअँ... जस्ता लेग्रो तान्ने समस्याले कतिको पछ्याउँछ ?
३६. तपाईंले भाषण गरेका बेला स्रोता उठेर जाने गरेको, कुर्सी खाली हुँदै गरेको अथवा तपाईंको कुरा सुन्दा पट्यार लागेर वा दिक्क भएर छेउमा बस्नेसंग कुरा गर्न थालेको, आङ तानेको अवस्था ख्याल गरेर भाषण बिट मार्ने गर्नुभएको छ ?
तपाईं विचार गर्नुस् । आफूलाई राम्ररी नियाल्नुस् । यी माथिका कथन व्यवहार मध्ये कति कुरा तपाईंमा टाँस्सिएका छन् ? तपाईंमा कस्तो समस्या छ, निक्र्योल गर्नुस् । यस्ता कुराबाट ग्रस्त हुनु , यस्तो बानी रहिरहनु एक प्रकारको रोग हो । त्यसकारण यस रोगबाट मुक्त हुन बेलैमा सचेत बनेर सतर्कतासाथ व्यवहार गर्न थाल्नुस् । आफूले आफूलाई आफ्नै कसीमा ढाल्नुस् । आफूले आफूलाई चिन्नु नै मानव जीवनको सर्वाधिक ठूलो सफलता हो । आफूलाई सफल व्यक्ति र आकर्षक व्यक्तित्व निर्माण गर्न चाहनु हुन्छ भने यस्ता विषयलाई विशेष ध्यान दिनुहोस् ।
आफ्ना कुरा