सरकारलाई खबरदारी गर्दा ५ वर्ष जेल परिएला : गगन थापा
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद गगन थापाले सरकारले नागरिकका अधिकार कुण्ठित हुने गरी एकपछि अर्को कानुन बनाउन लागेको आरोप लगाउनुभएको छ । प्रतिनिधि सभाको आइतबारको बैठकमा थापाले सूचना प्रविधि र गुठी लगायतका विधेयक नागरिकको अधिकारलाई समाप्त पार्ने गरी सरकारले अघि बढाएको आरोप लगाउनुभयो ।
सरकारले जति बेला जहाँ पनि मुख थुन्न पाउने गरी सरकारले कानून बनाउन लागेको उहाँले आरोप लगाउनुभयो । ‘संसदबाट पारित गर्न खोजिएको सूचना प्रविधि विधेयकमा कुनै पनि व्यक्तिलाई जिस्क्याउने, झुक्याउने, होच्याउने, हतोत्साही गर्ने, धम्क्याउने आशयले सामाजिक सञ्जालमा सन्देश सम्प्रेषित गरेमा ५ वर्ष कैद र १५ लाख जरिवानाको सजाय भोग्नुपर्ने भन्ने व्यवस्थाप्रति उहाँले गम्भीर आपत्ति प्रकट गर्नुभयो ।
‘‘यहाँ त सरकारी संरक्षणमा व्यक्तिको आत्मसम्मान नै ध्वस्त गर्ने गरी गाली बेइज्जती गर्न पाउने, तर सरकारलाई मन नपरेको बेला गाली बेइज्जतीका नाममा जसको जहाँनेर, जतिखेर मन लाग्यो मुख थुन्न पाउने गरी सरकारले कानून बनाउन लागेको छ,’ थापाले बताउनुभयो ।
अभिव्यक्ति स्वतन्त्रताका पक्षधरहरुलाई सरकारले ल्याएको सूचना प्रविधि विधेयक विरुद्ध उत्रिन उहाँले आह्वान गर्नुभयो । उहाँले अभिव्यक्ति स्वतन्त्रता कुनै व्यक्ति विशेष र दल विशेषका लागि मात्रै नभएकाले आन्दोलनको प्राप्तिलाई गुम्न नदिने जिम्मेवारी वहन गर्न आग्रह गर्नुभयो । चलचित्र समालोचक प्रनेश गौतम, धर्म संस्कृतिको संरक्षणको माग गर्ने गुठीयारहरुलाई गरेको जस्तै व्यवहार सरकारले जो कसैलाई पनि गर्न सक्ने भन्दै उहाँले सबैलाई सचेत हुनुपर्नेमा जोड दिनुभयो । सरकारले आफुलाई मन नपरेकाको मुख थुन्दै गएको भन्दै उहाँले सरकारमै रहेर विधेयकको विरोध गर्नेहरु पनि सरकारको गलत दृष्टिबाट बच्न नसक्ने दाबी गर्नुभयो ।
उहाँले भन्नुभयो “म त भन्छु, प्रधानमान्त्रीकै पाटी भित्र रहेर फरक मत राख्ने साथीहरु पनि होसियार । किनकि यहाँ अब कोही पनि सुरक्षित छैन । यो कानुन पारित भईसकेपछि यो कानुनको कसरी प्रयोग हुनसक्छ, हामी अहिले अनुमान लगाउन सक्छौ । यहाँ केबल सरकारका अरिंङगालहरु मात्र सुरक्षित रहन सक्छन् ।”
सूचना प्रविधि विधेयक संसदबाट बहुमतको बलमा पारित गरियो भने सबैका लागि लागु हुने भन्दै उहाँले ‘यो कानुन मेरा लागि होइन भनी सोच्ने हो’ भने एकदिन जर्मन कवि मार्टिन निमोरले भने जस्तै अवस्था श्रृजना हुने दाबी गर्नुभयो ।
उहाँले भन्नुभयो “पहिले उनीहरु समाजवादीलाई लिन आए । म बोलिनँ । किन कि म समाजवादी थिईन । उनीहरु ट्रेड युनियनकर्मीलाई लिन आए, म बोलिनँ । किन कि म ट्रेड युनियनकर्मी थिईनँ । उनीहरु जुजलाई लिन आए । म बोलिनँ किन कि म जुज थिईनँ । जब उनीहरु अन्तिममा मलाई लिन आए, मेरा लागि बोल्न बाँकी कोही थिएन । सम्माननिय सभामुख महोदय, यस्तै अवस्था आउदै छ । उठौ ,बोलौ , जागौ, सरकारको यो कानुनका विरुद्ध अहिले हो बोल्ने बेला । यो कानुन यो संसदबाट पारित हुनु भनेको संविधानको खिलाप मात्रै होइन । हाम्रो आन्दोलनको , अभिव्यक्ति स्वतन्त्रताको खिलापमा हो । त्यसैले म यो कानुनको विरुद्ध जनमत श्रृजना गर्न पनि म सबैलाई अनुरोध गर्दछु ।”
स्वतन्त्रताको अर्थ स्वच्छन्दता होईन भन्दै अघि बढेको हस्तक्षेपकारी सरकारको प्रवृति नै डरलाग्दो भएको टिप्पणी उहाँले गर्नुभयो । उहाँले भन्नुभयो “सरकारी संरक्षणमा व्यक्तिको आत्मसम्मान ध्वस्त गर्ने गरि गाली बेइजेति गरिरहन पाउने तर सरकारलाई मन नपर्दा गाली बेइजेति र शिष्टचार वा नैतिकताको नाममा जुनबेला मनलाग्यो, जसको जतिबेला जहाँ मन लाग्यो त्यही ठाउमा गएर मुख थुन्न पाउने गरि कानुन सरकारले बनाउन लागेको छ । ”
अस्पष्ट कानुनी व्यवस्थाले अभिव्यक्तिको स्वतन्त्रतामा बन्देज लगाउने भन्दै भारतको सर्वोच्च अदालतले २०१५ मा सिंगल भर्सेस अफ इण्डियाको मुद्धामा २००२ मा बनेको भारतको सूचना प्रविधि ऐनको दफा ६६ ए लाई असंबैधानिक भन्दै खारेज गरेको उल्लेख गर्दे उहाँले नेपालमा भारतमा भन्दा कठोर कानुन बनाउन लागिएको दाबी गर्नुभयो ।
उहाँले भन्नुभयो “नेपाली कांग्रेसका सांसदहरुको विरोधका बाबजुत संसदबाट पारित गर्न खोजिएको सूचना प्रविधि विधेयक भन्छ कुनै पनि व्यक्तिलाई जिस्काउने , झुक्काउने, होच्याउने , हत्तोत्साही गर्ने, धम्क्याउने आशयले सामाजिक सञ्जालमा सन्देश सम्प्रेषित गरेमा ५ बर्ष कैद र १५ लाख सम्मको जरिवाना भोग्नुपर्नेछ । जिस्काउने, झक्काउने, होच्याउनेको परिभाषा के ? ”
एक पछि अर्को गर्दै सरकारले ल्याएका पछिल्ला विधेयकबाट सरकारले आफुलाई सर्वशक्तिमान ठानेको स्पष्ट भएको बताउनुभयो । उहाँले सनातनदेखि चलिआएको संस्कृतिको दायित्व बोकेको राज्यले गुठीलाई मासेर नेपालको सांस्कृतिक पहिचान सम्पदा मास्ने षडयन्त्रको विरुद्धमा बोल्ने मुख थुन्न लाठी र पानीको फोहोरा फ्याक्ने, गीत गाउने गायक, चलचित्रको समिक्षा गर्ने समिक्षक र संस्कृति बचाउको माग गर्ने विरुद्धको सरकारको हस्तक्षेप डरलाग्दो भएको बताउनुभयो ।
अभिव्यक्ति स्वतन्त्रतामा अंकुश लगाउन खोज्ने सरकारका प्रधानमन्त्रीले अभिव्यक्ति स्वतन्त्रताको महत्वका बारेमा अन्तराष्ट्रिय जगतमा भाषण गरेको भन्दै उहाँले व्यंग्य गर्नुभयो ।