गणतन्त्रको पक्षमा सतिसाल भएर उभिए मुकुन्दे
दुई दशकदेखि काठमाडौंको माटोमा चर्चामा आइरहने एउटा पात्र हो– मुकुन्द घिमिरे । यति राम्रो नामलाई उसैले बंग्याउँदै सगर्व भन्छ– ‘म मुकुन्दे हुँ ।’ पुरा हुनु नहुनु आफ्नो ठाउँमा छ । तर उसले आफूलाई मुकुन्दल्याण्डको भीष्मपितामह ठान्दै आएको छ । वर्षौंसम्म रत्नपार्कमा रुखमाथि बसेर भाषण गर्दै आएको मुकुन्दे अहिले समयसंगै परिवर्तनशील भएर आफूलाई ट्वीटर, यूटुब, फेसबुकमा सक्रिय बनाएको छ । उसको अधिकांश समय सामाजिक सञ्जालमै बित्छ । पुरै एक वर्ष काठमाडौं त्यागेर आफ्नो घर विराटनगर बसेको मुकुन्दे फेरि काठमाडौंको चौघेरोमा आइपुगेको छ । नेपाल आजले उनलाई सोध्यो– ‘वर्तमान राजनीति गतिविधिलाई कसरी हेरिरहनु भएको छ ?’
मानिसले सोचेजस्तो फितलो उत्तरमा देखिएनन् उनी । बरु संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा सतिसाल भएर उभिए । दलाल र दलका झोले कार्यकर्ताले व्यवस्था बद्नाम गरेको गुनासोप्रति कति पनि सहमत भएनन् । मुकुन्देको तर्क छ– ‘जो अलग क्षमता र ठूलो छाती भएको छ, उसले गर्ने हो राजनीति । बहुदलीय व्यवस्था भनेकै कुनै न कुनै दलमा जनता आवद्ध भएर आफ्नो सुखद भविष्य खोजून भन्ने हो । जो मानिस राजनीतिक दलमा अटाउँदैनन् नि बुझे हुन्छ, उनीहरु कखुरे छाती भएका अयोग्य मानिस हुन् ।’
वर्तमान सरकार विरुद्ध धेरै मानिस भँडास पोखिरहेको भेटिन्छ । यद्यपि मुकुन्द सरकारप्रति सकारात्मक छन् । सामाजिक सञ्जाल, आमसञ्चारमा जो सरकार विरुद्ध विषवमन गरिरहेका छन, तिनीहरु गणतन्त्र बद्नाम गर्न लागि परेको भीड हो भन्ने उनको विश्लेषण छ । ‘जसरी पाकिस्तानमा लोकतन्त्रवादीलाई ललकारेको छ, गणतन्त्रवादीलाई यहाँ पनि त्यही हालतमा पुर्याइँदैछ । यो राजा वीरेन्द्रले दिएको बहुदलीय व्यवस्थाको जगमा आएको परिवर्तन हो । जसलाई युटुब, फेसबुक, ट्वीटर मात्र हैन, माइतीघरको फूल माडेर गणतन्त्रलाई लुटतन्त्र भनिरहेका छन्, तिनीहरु देखेर क्षुब्ध छु ।’ मुकुन्देसंग कम्युनिष्ट र काँग्रेसको राजनीतिक दूरी घटाउने शूत्र पनि छ । त्यो के होला ? उनी भन्छन्– ‘बीपी कोइराला र मदन भण्डारी भण्डारीलाई राष्ट्रिय विभूति घोषणा गरिदिने हो भने केपी ओली नेतृत्वको सरकार लोकप्रिय हुन्छ ।’
दुवैतिरबाट बन्दुक पडकेको बेला आफूले जोखिम मोलेर देश हितका पक्षमा रुखमा चढेर विचार प्रवाह गरेको स्मरण गर्दै मुकुन्दे खबरदारी गर्छन– ‘सस्तो लोकप्रियता खोज्नेहरुले मेरो आकाश अतिक्रमणको प्रयाश गरे । भूइँचालोको त्रास फैल्याउने, अमेरिकाबाट आएर टीभीमा भूइँफुट्टा हुने, गरिब जनतासंग अर्बौं उठाएर रंगशाला बनाएर चर्चित हुने यी सबै बदमासी हुन् । यस्ता विरुद्ध म सतिसाल भएर उभिन्छु । मभित्र एन्टी करेन्ट भएर उभिन सक्ने क्षमता छ ।’
अन्त्यमा, जेठ ३० गतेबाट ४१ वर्ष लागेका मुकुन्देलाई प्रश्न गरियो– लगनगाँठो कहिले कस्ने ?
‘मेरो जीवनको अक्करे भीरको यात्रा सकियो । अब म तेर्सो बाटोमा छु । आगामी मंसिरसम्म मुकुन्देलाई ईन्दिरा मिल्ने आशा गरौं ।’ मुकुन्देले यसो भन्दै बिट मारे ।