पहिले प्रधानमन्त्रीले बोलिसकेपछि के बोल्ने मैले ? बोल्ने भए हिजो पनि बोल्थे नि : देउवा
काठमाडौँ । सभामुखले पहिले प्रतिपक्षी बोल्न नदिएको भन्दै मंगलबारको प्रतिनिधि सभा बैठक अवरुद्ध गरेको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता शेर बहादुर देउवाले संसदमा सधै विपक्षीलाई प्राथमिकता दिनुपर्ने बताउनुभएको छ ।
संघीय संसद भवनमा संचारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै देउवाले संसदमा बोल्नका लागि पहिलो प्राथमिकता प्रमुख प्रतिपक्षी दललाई दिनुपर्ने बताउनुभयो । अन्तर्राष्ट्रिय अभ्यास अनुरुप प्रधानमन्त्रीले सुरुमा बोल्ने नभइ जवाफ दिने भएको बताउनुभयो ।
उहाँले भन्नुभयो “प्रधानमन्त्रीले बोल्ने होइन । जवाफ दिने हो । पहिले बोलिसकेपछि के बोल्ने मैले ? बोल्ने भए हिजो पनि बोल्थे नि, प्रधानमन्त्रीलाई सुनाउनु थियो आज । जहाँ पनि विपक्षीले पहिले बोल्ने हो । जवाफ प्रधानमन्त्रीले दिने हो । सुरुमा कहाँ बोल्छन् ? ” मंगलबारको संसद बैठकमा प्रधानमन्त्रीले पछिल्ला राजनीतिक घटनाक्रमबारे र आफ्नो युरोप भ्रमणबारे सदनमा जानकारी गराउने कार्यक्रम थियो ।