मध्यरातमा भागेको साथी
साँझ ६ बजेदेखि एउटै टेबलमा बसेर सुख दुःखका गफ गरिरहेको साथी ध्रुव मध्यरातमा एकाएक गायब भयो । यता खोजें, उता खोजें, आँखा तिरमिराए, उ भेटिएन ।
फोन गर्छु, फोन लाग्दैन । झमझम पानी परिरहेको छ । पार्किङमा गएँ, उसको मोटरसाइकल त्यहीं थियो, उ थिएन । मनमनै सोचें, साथी भागेछ !
म फर्किए, आफनै कुर्सीमा बसें । धु्रवको केहीबेर अघिको लड्खडाएको हिंडाई र लरबराएको बोली सम्झें । कवि हरिभक्त कटुवाललाई पनि सम्झें ।
म आफ्नै बाटो हिंडिरहेको हुन्छु, तर खुट्टा अन्तै कतै गइरहेको हुन्छ
म तिमीलाई नै सम्झिरहेको हुन्छु, तर अर्कै कसैले मलाई तानिरहेको हुन्छ
विश्वास गर ! म कायल छु तिम्रो मुस्कान जस्तै यो रक्सीसित
कहिले मैले उसलाई खाइरहेको हुन्छु, कहिले उसले मलाई खाइरहेको हुन्छ ।
कवि हरिभक्त कटुवालको यो कविता व्याख्या गर्न जरुरी छैन । नेपाली साहित्यमा कटुवाल, भूमी शेरचना, गोपालप्रसाद रिमाल लगायत थुप्रै यस्ता कवि छन् जसका कविता निकै सरल र सरस छन् । सबैले बुझ्छन् । गहिरो भावना र गहन अर्थ बोकेको सन्देशलाई पनि उनीहरुले सरल तरिकाले अभिव्यक्त गरिरहेका हुन्छन् ।
आज मलाई आकर्षित गरेको चाहिं कटुवालको यो कविताको तेस्रो लाइनले हो । ‘विश्वास गर ! म कायल छु तिम्रो मुस्कान जस्तै यो रक्सीसित’ ।
यो पङ्तीमा गजबको मादकता मैले महसुस गरेको छु । रक्सीले जसरी नशा दिन्छ, त्यो नशा तिम्रो ओठमा छ अर्थात ओठबाट निस्केको मुस्कानमा छ ।
प्रेममा यो मादकता जरुरी छ । भारतीय फिल्म ‘बागबान’ मा परेश रावलले आफनी श्रीमतिलाई गर्ने प्रेमका बारेमा अमिताभलाई भन्छन्, ‘ मोटाभाई ! में जानबुझकर अपनी बिविसे बात करनेमे मिस्टेक करता हुँ । जब वो मुझे सुधार्ती हे, तो उसको चेहेरे पर खुशी चमकती हो, ये चमक देख्नेके लिए में जिन्दगीभर मिस्टेक कर्नेको तयार हुँ । ’
परेस रावलको यो श्रीमतिप्रतिको लगाव र साँचो प्रेम हो । परेशको यो कुरा सुनेपछि मोटाभाई अर्थात अमिताभ आफनी श्रीमतिसँग छुट्टिएर बस्नुको पीडाले आक्रान्त भए । उनको अनुहारमा त्यो भाव छचल्कीन्थ्यो । परेसका लागि श्रीमतिको अनुहारको चमक नै नशा थियो, एक प्रकारले लत बसिसकेको थियो ।
हरिभक्त कटुवाललाई प्रेमिकाको मुस्कानले रक्सीको नशा जस्तै झुमझम पार्नु र परेश रावल आफनी श्रीमतिको चम्किलो अनुहारमा फिदा हुनु दुवै प्रेममा अपरिहार्य छन् ।
कवि गोवर्धन पूजा लेख्छन :
नशा आँखामा हुन्छ कि सुरामा
माया हृदयमा हुन्छ कि कुरामा
दुःख विछोडमा हुन्छ कि छुरामा ?
यहाँ कवि गोवर्धन पूजा पनि रक्सी र आँखाको नशाबाट हायलकायल देखिन्छन् । यस्तो लाग्छ प्रेम र रक्सी अभिन्न साथी हुन् । प्रेममा डुब्दा पनि नशा, प्रेम टुट्दा पनि नशा ।
हिन्दी फिल्म ‘दिल हे बेताब’ मा मोहम्मद अजिजले गाएका छन् :
‘तेरा गम अगन ना हो ता, तो शराब मैं ना पिता
ये शीतम अगर ना हो ता, तो शराब मैं ना पिता’
दिल दुखेकाबेला फिल्ममा मात्र होइन वास्तविक जीवनमा पनि रक्सीको साथ खोज्नेहरु प्रशस्त छन् । रमाइलोमा पनि रक्सी, दुःखमा पनि रक्सी ।
आजभोलि त रक्सी नेपालीहरुको संस्कृती नै बनिसकेको छ । विदेशबाट पाहुना आउँदा सरकारले आयोजना गर्ने ‘ककटेल’, कुनै ब्यापारीले नयाँ ‘प्रोडक्ट’ लञ्च गर्यो ‘ककटेल पार्टी’, साथीभाईसँग यसो भेटभयो ‘ लाउने हैन त यसो अलिकति टुच्च ! ’ घरमा पाहुन आए ‘ अलिकति लिउँ है, नत्र रमाइलो नै हुन्न । ’
घरमा पाहुना आउँदा एक अम्खोरा पानी, सर्वत वा चियाको चलन हराउन थालिसक्यो । चाडवाड भनेकै रक्सी जस्तो भएको छ । नेपाली महिलाहरुले तीजमा त मदिरा चलाउन थालिसके । अहिले त झन असारको गर्मी छ, शहरमा पानीको ठाउँ बियरले लिएको छ ।
हरिभक्त कटुवालको अर्को कविता सापटी लिन्छु :
सपना बोकेर आइदिने रातहरूलाई एउटा सलाम
सपना खोसेर लैजाने प्रभातलाई पनि सलाम
सजिलैसित जिउने एउटा मीठो निहुँ पाइएको छ
रक्सी बनाइदिने पहिलो स्रष्टालाई अर्को सलाम ।
रक्सी कति शक्तिशाली रहेछ भन्ने यसबाटै थाहा हुन्छ । कटुवालले त्यसै लेखेका होइनन् –‘रक्सी बनाइदिने पहिलो स्रष्टालाई सलाम ! ’
केहीबेर अघिसम्म बोली लरबररिएको मेरो साथी धु्रव बाटोमा कति ठाउँ पल्टियो थाहा छैन, तर मध्यरातमा उसले मेरो साथ छोड्यो !
............
मध्यरातमा एक्लै किन हिंड्यो यो प्रश्न मेरो मनमाथिङ्गलमा घुमिरहेको छ । तर, सत्य के हो भने एकले साथ छोडे, साथ दिने अर्को आउँछ । संकेत सर, जीप लिएर आइपुगे !