विनियोजन विधेयकमाथि सञ्चारमन्त्रीको यस्तो जवाफ
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले लोकतन्त्र र स्वतन्त्र प्रेसमाथि अप्ठ्यारो पार्ने सरकारको कुनै नीति नरहेको स्पष्ट पार्नुभएको छ । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा उहाँले विनियोजन विधेयक २०७६ अन्तर्गत सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका विषयमा सांसदले उठाएको प्रश्नको जवाफ दिँदै सरकारले कसैलाई अप्ठेरो नबनाएको र प्रेसमाथि कहीँबाट पनि कुनै खतरा नरहेको बताउनुभयो ।
आमसञ्चार माध्यमलाई ऐनमार्फत व्यवस्थित गर्ने प्रयास भइरहेको उल्लेख गर्दै उहाँले सञ्चार क्षेत्रमा देखिएको आन्तरिक तथा बाह्य चुनौतीले धेरै समस्या सिर्जना गरेको बताउनुभयो । मन्त्री बाँस्कोटाले राष्ट्रियसभामा पेश भएको मिडिया काउन्सिलसम्बन्धी विधेयकमा आएका सकारात्मक कुरालाई सम्बोधन गरिने विश्वास दिलाउँदै लोक कल्याणकारी विज्ञापनमा कुनै विभेद नगरिएको स्पष्ट पार्नुभयो ।
उहाँले फोर जीका लागि करीब चार हजार एक सय वटा टावर थपिने बताउनुभयो । मन्त्री बाँस्कोटाले एक हजार वटा सामुदायिक विद्यालयमा कम्प्युटर ल्याब स्थापना गर्ने कार्यक्रम अघि बढाएको उल्लेख गर्दै त्यसका लागि सात वटै प्रदेशमा नमूना स्कूल स्थापना प्रक्रिया पोखराबाट शुरु भएको बताउनुभयो ।