गिरफ्तार गरिसकेपछि मुठभेड भन्दै मार्ने डरलाग्दो अभ्यास
काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका सर्लाही इन्चार्ज कुमार पौडेल मुठभेडमा मारिएको प्रहरीको दाबी छ । सर्लाहीको लालबन्दी नगरपालिका–१ लखन्ती खोलामा बिहीबार दिउँसो मुठभेड भएको प्रहरीको भनाइ छ । राष्ट्रसेवक प्रहरीलाई सामान्य पनि क्षति नपुग्नु सुखद खबर हो । तर, मुठभेड भएर नै यस्तो भएको हो भन्ने विश्वास गर्न गाह्रो छ । बाटोमा हिँडिरहेका मान्छेलाई शंकाका आधारमा प्रहरीले ‘अवश्य’ गोली चलाउँदैन । विप्लव समूहकाले पहिले गोली चलाएका हुन् भने प्रहरीलाई पनि चोटपटक लाग्न सक्थ्यो । सुरुमा फायरिङ गर्नेले केही पनि गर्न नसक्ने, तर जवाफी कारबाही गर्नेले मान्छे ठहरै पार्ने अनौठो उदाहरण बिहीबारको घटनाले देखाएको छ । प्रहरीसँग यस्तो कौशल विरलै देखिने गर्छ ।
बाटोमा प्रहरीसँग जम्काभेट भएपछि विप्लव समूहका चार कार्यकर्तासँग मुठभेड भएको प्रहरीको भनाइ छ । प्रहरी प्रवक्ता डिआइजी विश्वराज पोखरेलका अनुसार घटनास्थलबाट पेस्तोल बरामद भएको छ । प्रदेश २ प्रहरी कार्यालय र जिल्लाबाट खटिएको टोलीसँग मुठभेड भएको पनि उनले बताए । प्रहरीको दाबीले प्रश्न उठ्छ– के विप्लव समूह साँच्चै द्वन्द्वमा गएको हो? उनीहरू हतियार बोकेर खोलानाला र गाउँ–पखेरा हिँड्न थालेका हुन्? स्थिति साँच्चै त्यस्तै हो भने एक–एकजनालाई गोली हानेर यो समस्याको समाधान हुन सक्छ? मुठभेडले नै समस्या समाधान गर्ने हो भने राज्यसँग के–कस्तो रणनीति छ? तर, प्रहरीका यस्ता कारबाहीले समस्या समाधान गर्नेभन्दा द्वन्द्व उक्साउने जोखिम छ ।
१२ जेठमा काठमाडौंमा बम विस्फोट हुँदा विप्लव समूहकै तीनजनाको मृत्यु भएको थियो । भोलिपल्ट संसद्मा बोल्दै गृहमन्त्री रामबहादुर थापाले भनेका थिए, ‘विप्लवले चार कम्पनी सेना बनाइसके ।’ राज्यसँग यति ठूलो सूचना छ भने उसको रणनीति के हो? सरकार वार्ताबाट समस्या समाधान गर्न चाहन्छ कि बल प्रयोग गर्न? विप्लव समूहले सैन्य दस्ता नै बनाइसकेको भनेर सूचना पाउँदा पनि गृहले त्यसविरुद्ध कुनै सुरक्षा रणनीति बनाउन आवश्यक ठानेको छैन । वास्तवमा विप्लव समूहप्रति सरकारको नीति नै प्रस्ट छैन । विस्फोटका घटना बढ्दै जाँदा सतर्क रहन सुरक्षा निकायलाई निर्देशन दिनेबाहेक गृहले यो प्रकरणमा विशेष योजना बनाउन सकेको छैन । उल्टो सरकारी संयन्त्रहरूलाई नै अलगथलग र कमजोर बनाइएको छ । यो समाचार नयाँ पत्रिका दैनिकबाट लिइएको हो ।