रेशम चौधरीको खुट्टामा सिक्री बाँध्नेलाई कारवाही गर्न प्रधानमन्त्रीको निर्देशन
काठमाडौँ । टीकापुर हत्याकाण्डका मुख्य दोषी रेशम चौधरीको खुट्टामा फलामको नेल लगाउनेलाई कारबाही गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशन दिनुभएको छ । वीर अस्पतालमा उपचाररत बन्दी चौधरीको खुट्टामा फलामको नेल लगाइएको घटनाप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले चासो दिनुभएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मुख्यसचिव लोकदर्शन रेग्मीलाई फोन गरेर चौधरीको खुट्टामा नेल लगाउनेहरुलाई तत्काल कारवाही गर्न निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
टीकापुर हत्याकाण्ड घटाएको अभियोगमा कैद भोगिरहेका राजपाका निर्वाचित सांसद चौधरीलाई मेरुदण्डमा समस्या आएपछि वीर अस्पताल भर्ना गरिएको थियो । अस्पतालको बेडमा उनको खुट्टामा १४ किलोको फलामको नेलले बाँधेर राखिएको थियो ।
चौधरीमाथि राज्यले गरेको अमानवीय व्यवहारप्रति सामाजिक सञ्जालमा चर्को आलोचना भएको थियो । समाजवादी पार्टी र राजपा का नेताहरुले पनि यो घटनाबारे आपत्ति जनाएका थिए ।
समाजवादी पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले चौधरीलाई अस्पतालमै गएर भेटेका थिए ।